गाजाबाट भाग्न थाले प्यालेष्टिनी

गाजाबाट भाग्न थाले प्यालेष्टिनी



रफाह । गाजा शहरबाट ठूलो संख्यामा प्यालेष्टिनी भाग्न थालेका छन् । इजरायली सेनाले गाजा कब्जामा लिने कारबाही सुरु गरेपछि प्यालेस्टिनीहरू सहर छाडेर भागिरहेको सहरका अधिकारीहरूले बताएका छन् ।

इजरायली सेनाले सहरको बाहिरी हिस्सामा पाइला राखिसकेका छन् । कयौँ दिनदेखि भारी बमवारि र गोलाबारुद प्रहारपछि इजरायली सेनाले हालै जैतुन र जबालिया क्षेत्रमा सैनिकहरू तैनाथ गरेका थिए ।

यसैबीच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा तत्काल युद्धविरामको लागि आफ्नो अपिल दोहोर्‍याएका छन् । यो सैन्य कारबाहीले मृत्यु र विनाश निम्त्याउने निश्चित भएको अनि यसलाई रोक्न निकै जरुरी भएको गुटेरेसले भनेका थिए ।

गाजाका अधिकारीहरूका अनुसार, दस लाखभन्दा बढी मानिसहरू बसोबास गर्ने यो क्षेत्र पहिले नै धेरै दिनदेखि भारी बमवारि सामना गरिरहेको छ ।