भारत–पाकिस्तानसहित ७ वटा युद्ध रोकेको ट्रम्पको दाबी

भारत–पाकिस्तानसहित ७ वटा युद्ध रोकेको ट्रम्पको दाबी



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तान द्वन्द्वसहित विश्वभर ७ वटा युद्ध रोकेको दाबी गरेका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले सबैभन्दा ठूलो भारत–पाकिस्तानसहित ७ वटा युद्ध रोकेको बताएको बीबीसीले जनाएको छ ।

यद्दपि भारतले विगतमा ट्रम्प र अमेरिकाले गरेका सबै यस्ता दाबीहरूलाई अस्वीकार गर्दै आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि संसद्मा कुनै पनि प्रकारको मध्यस्थतालाई अस्वीकार गरेका थिए ।

भारत र पाकिस्तानबीचको द्वन्द्वलाई उल्लेख गर्दै ट्रम्पले यो युद्ध आणविक युद्धमा परिणत हुन सक्ने बताएको खबरमा उल्लेख छ । भारत–पाकिस्तानले पहिलै नै ७ वटा लडाकू विमान खसालेका ट्रम्पले दाबी गरे । उनले खसालिएका विमानहरू भारत, पाकिस्तानका थिए वा दुई देशको संयोजनका थिए भन्ने कुरा खुलाउनु भएन ।

लडाइँ जारी रहे अमेरिकाले दुवै देशसँग व्यापार नगर्ने र सहमतिका लागि २४ घण्टाको समय दिएपछि भारत र पाकिस्तान युद्ध रोक्न तयार भएका अमेरिकी राष्ट्रपति ट्रम्पले उल्लेख गरे ।

गएको हप्ता पनि ट्रम्पले भारत र पाकिस्तानसहितका युद्ध समाप्त गरेको दाबी गरेका थिए । ट्रम्प प्रशासनले ट्रम्पले रोकेका ‘युद्धहरू’ सूचीबद्ध गरेर ‘प्रमुख शान्तिनिर्माता’ ट्रम्पलाई नोबल शान्ति पुरस्कार पहिलै दिइसक्नुपर्ने र ढिलाइ भएको जनाएको छ ।