काठमाडौं । काठमाडौं महानगरपालिकाको ज्यादतीबिरुद्ध कबाड व्यवसायीले आज (मंगलबार) दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डपबाट शुरु भएको कबाड व्यवसायीको प्रदर्शन कमलादी स्थित काठमाडौं महानगरपालिकाको कार्यालय समेत घेराउ गरेको छ ।
कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले कबाड व्यवसायीमाथि ज्यादती गरिरहेकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताए ।
‘सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कवाड व्यवसायमा तोडफोड सहितको अत्याचार बिरुद्ध कबाड व्यवसायीले शान्तिपूर्ण आन्दोलन गरिरहेको छ,’ गुप्ताले भने, ‘म बालेनलाई प्रश्न गर्न चाहन्छु, के तिमी सर्वोच्च अदालतभन्दा माथि छौ ? के अदालतले दिएको आदेश तिमीले पालना गर्नुपर्दैन ? कानूनी शासनको कुरा गर्नेले कानून मान्नुपर्छ कि पर्दैन ?’
सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्ने प्रतिबद्धता बालेनले नगरेसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने उनले बताए । कानून पालना गर्ने सवालमा बालेनलाई घुडा नटेकाएसम्म आन्दोलन जारी रहने उनले जनाएका छन् ।
हिजोबाट शुरु भएको कबाड व्यवसायीको आन्दोलन शसक्त बन्दै गइरहेको छ । शान्तिपूर्ण आन्दोलन गरिरहेका आन्दोलनकारीले सर्वोच्च अदालतको आदेश पालना गर, कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, बालेन तेरो पाराले दुख पायो साराले लगायतका नारा लगाएका छन् ।
कबाड व्यवसायीले विभिन्न ५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।
संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरूतत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानुनी कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।
त्यसैगरी, कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ ।


प्रतिक्रिया