प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उन चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्, जहाँ उनी बुधबार हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुनेछन् ।
यो अवसरले किमलाई चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य विश्व नेताहरूसँग भेट गर्ने अवसर दिनेछ । यसलाई उनको पहिलो बहुपक्षीय अन्तर्राष्ट्रिय सहभागिता मानिएको छ ।
दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार किमले मंगलबार आफ्नो बख्तरबन्द रेलमार्फत चीन प्रवेश गरेका हुन् । सुरक्षा व्यवस्थाका कारण रेल ढिलो गतिमा यात्रा गर्ने भएकाले बीजिङ पुग्न करिब २४ घण्टा लाग्ने अनुमान छ ।
किमको यस पटकको सहभागिता सन् १९५९ पछि पहिलोपटक कुनै उत्तर कोरियाली नेताले चिनियाँ सैन्य परेडमा उपस्थिति जनाएको हो । यसपटकको कार्यक्रममा म्यानमार, इरान, क्युबासहितका २६ राष्ट्रप्रमुखहरू सहभागी हुनेछन् ।
यसअघि २०१५ को विजय दिवस परेडमा उत्तर कोरियाले उच्च अधिकारी छोए रयोङ-हेलाई पठाएको थियो । किम जोङ उन भने सन् २०१९ मा चीन–उत्तर कोरिया कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका क्रममा अन्तिमपटक बेइजिङ गएका थिए ।
किमको रेलयात्रा परम्परा उनका हजुरबा किम इल सुंगले सुरु गरेका थिए । उनका पिता किम जोङ इलले पनि विमान यात्राप्रति डर भएकाले बख्तरबन्द रेलमै प्रायः विदेश भ्रमण गर्ने गर्थे ।
दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार किमको हालको रेलमा करिब ९० वटा डब्बा छन्, जसमा बैठक कक्ष, शयनकक्ष र अतिथि सत्कार कक्षसम्म समावेश छन् ।


प्रतिक्रिया