गोंगबुबाट बरामद रकम ४ करोड २५ लाख र सुन ९ किलो रहेको पुष्टि

गोंगबुबाट बरामद रकम ४ करोड २५ लाख र सुन ९ किलो रहेको पुष्टि



काठमाडौं । आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको रकम चार करोड २५ लाख रहेको पुष्टि भएको छ ।

मंगलबार साँझ प्रहरीले छापा हानेर रकम बरामद गरेको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) शेखर खनालका अनुसार ठुलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा चार करोड २५ लाख रकम रहेको खुलेको हो ।

त्यसैगरी सुनका विभिन्न गरगहनाहरू ९ किलो ८३७ ग्राम बरामद भएको छ । ३ किलो २१८ ग्राम चाँदीका गरगहना बरामद भएका छन् ।

उक्त रकम, सुनचाँदीसहित प्रहरीले गोरखाको गोरखा बजारका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

उक्त रकम र सुनचाँदीसहित पक्राउ परेका व्यक्ति मिटरबाजी रहेको प्रहरीले दाबी गरेको छ ।