काठमाडौं । काठमाडौं सामाखुसीबाट चार करोड २६ लाख नगद र ९ तोला बढी सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग हरिहर भवन पठाएको छ ।
मङ्गलबार पक्राउ परेका श्रेष्ठलाई बुधबार थप अनुसन्धानका लागि राजस्व विभाग पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
श्रेष्ठलाई मङ्गलबार दिउँसो काठमाडौँ महानगरपालिका-२६, सामाखुशीको एक घरबाट उक्त रकम, सुन र चाँदीसहित नियन्त्रणमा लिएको थियो । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर महाराजगन्ज र प्रहरी वृत्तको संयुक्त टोलीले अवैध रकम र सुनसहित घरधनी श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले उनका छोरा सनम खड्गीले कोठा भाडामा लिएको काठमाडौँ–१७, नयाँबजारको घरमा समेत खानतलासी गरेको थियो। सामाखुसी र नयाँ बजारबाट बराम नगद र धनमाल प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार कुल चार करोड २६ लाख ४० हजार पाँच सय नगद, ९ किलो भन्दा बढी सुनका गरगहना र तीन किलो भन्दा बढी चाँदीका गरगहना बरामद गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया