नाइजेरियामा बोको हरामको आतंक, ६० जनाको हत्या

नाइजेरियामा बोको हरामको आतंक, ६० जनाको हत्या



काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी एक गाउँमा शुक्रबार राति बोको हरामका आतंककारीहरूले भीषण आक्रमण गरेका छन् । आक्रमणमा ६० जनाको मृत्यु भएको छ ।

उनीहरूले नाइजेरिया–क्यामरुन सीमामा रहेको एक सैन्य अड्डामा आक्रमण गरी कम्तीमा पाँच सैनिकको पनि हत्या गरेका छन् ।

यो आक्रमण दारुल जमाल गाउँमा भएको थियो । उनीहरू सरकारको सुरक्षा आश्वासन दिएपछि हालसालै विस्थापित मानिसहरूको शिविरबाट फर्केर आफ्नो घरमा बस्न थालेका थिए ।

नाइजेरियाली वायु सेनाले जनाएअनुसार, गाउँमा भएको उक्त आक्रमणको खबर पाएपछि गरिएको हवाई हमलामा ३० जना लडाकु मारिएका छन् ।

बोर्नो राज्यका गभर्नर बाबागाना जुलुमले शनिबार साँझ गाउँको भ्रमण गरी मृतकको संख्या ६० भन्दा बढी भएको पुष्टि गरेका छन् ।

आक्रमणकारीहरूले २० भन्दा बढी घर जलाइदिएका छन् । दश घरहरूमा तोडफोड गरेका छन् । १०० भन्दा बढी मानिस आफ्नो घर छोडेर भाग्न बाध्य भएका बामाको स्थानीय सरकारले बताएको छ ।

आतंकवादी मामिलाका विज्ञ तथा इन्स्टिच्युट फर सेक्युरिटी स्टडिजका ताइवो अदेबायोले यो आक्रमण बोको हरामको समूहले गरेको बताएका छन् ।

नाइजेरियाको घरेलु जिहादी समूह बोको हरामले सन् २००९ मा हतियार उठाएको थियो । यसको उद्देश्य पश्चिमी शिक्षाको विरोध गर्नु र आफ्नो कट्टरपन्थी इस्लामी व्यवस्था लाद्नु थियो । संयुक्त राष्ट्रका अनुसार, यस संघर्षमा अहिलेसम्म करिब ३५ हजार नागरिक मारिएका छन् । २० लाखभन्दा बढी मानिस घरबारविहीन भएका छन् । बीबीसीबाट