दोहा । कतारको राजधानी दोहामा इजरायलले गरेको हवाई आक्रमणमा हमासका कम्तीमा पाँच सदस्य मारिएका छन् । तर हमासले आफ्नो वार्ता टोलीलाई लक्षित गरिएको हत्या प्रयास भने असफल भएको दाबी गरेको छ ।
हमासका अनुसार अमेरिकी प्रस्तावमा आधारित गाजामा युद्धविरामबारे छलफल चलिरहेको बेला दोहाको एक आवासीय कम्पाउन्डमा आक्रमण भएको हो । विस्फोटका कारण भवन क्षतिग्रस्त भएको जनाइएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो आक्रमणलाई ‘पूर्णतया न्यायोचित’ भन्दै यसले २०२३ अक्टोबर ७ मा भएको इजरायलमाथिको आक्रमण आयोजना गर्ने हमास नेताहरूलाई लक्षित गरेको बताए ।
कतारले भने सो आक्रमणलाई ‘कायरतापूर्ण’ र ‘अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’ भन्दै कडा निन्दा गरेको छ । कतारी गृह मन्त्रालयका अनुसार एक सुरक्षा अधिकारी मारिएका छन् र केही घाइते भएका छन् । तर हमास सदस्यबारे भने केही उल्लेख गरिएको छैन ।
ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई ‘दुर्भाग्यपूर्ण’ भने पनि हमासको अन्त्य ‘उचित लक्ष्य’ भएको बताएका छन् । कतार अमेरिकाको प्रमुख सहयोगी देश हो, जहाँ ठुलो अमेरिकी हवाई अड्डा रहेको छ ।
सन् २०१२ देखि कतारले हमासको राजनीतिक ब्यूरोलाई आश्रय दिँदै आएको छ र उसैमार्फत अमेरिका तथा इजिप्टसँग मिलेर इजरायल–हमासबिचका अप्रत्यक्ष वार्तामा मध्यस्थता गर्दै आएको छ ।
दोहामा बस्ने स्थानीयवासीका अनुसार मंगलबार दिउँसो करिब आठवटा विस्फोटको आवाज आएको र सहरको उत्तरी कतारा क्षेत्रमा धुवाँ उडेको देखिएको थियो । कतारी अधिकारीहरूले आक्रमण हमास राजनीतिक ब्युरोका सदस्यहरू बस्ने आवासीय भवनमा भएको बताएका छन् ।
इजरायलले केही मिनेटमै आक्रमणको जिम्मा लिएको थियो । इजरायली सेना र गुप्तचर निकाय शिन बेटले ‘वरिष्ठ नेताहरूलाई लक्षित गरिएको सटीक आक्रमण’ भएको बयान जारी गरे ।
इजरायली सञ्चारमाध्यमका अनुसार सो आक्रमणमा १५ वटा लडाकु विमान परिचालन गरिएको थियो र १० वटा बम एउटै लक्ष्यमा केही सेकेन्डभित्र प्रहार गरिएको थियो ।
आक्रमणमा लक्षित व्यक्तिहरूमध्ये हमासका प्रमुख वार्ताकार तथा निर्वासित गाजा नेता खालिल अल–हैय्या र पश्चिम तट (वेस्ट बैंक) का निर्वासित नेता जाहेर जबारिन रहेको प्रारम्भिक जानकारी इजरायली अधिकारीहरूले दिएका छन् ।


प्रतिक्रिया