ललितपुर । ‘जेन–जी’ आन्दोलनका क्रममा जलेको ललितपुर महानगरपालिका–२५ भैँसेपाटीमा रहेको प्रहरी प्रभाग स्थानीयवासीले पुनर्स्थापना गरेका छन् ।
यही भदौ २३ र २४ गते ‘जेन–जी’ को नेतृत्वमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरी प्रभाग बुङ्गमती भैँसेपाटीमा आगो लगाइदिएपछि त्यहाँका सबै सामग्री जलेर नष्ट भएका थिए । प्रहरी प्रभागका इन्चार्ज शशिधर शर्मासहितको टोली अत्यावश्यक सामग्रीसहित हिजो अबेर प्रभागमा प्रवेश गरेको थियो ।
आन्दोलनकारीले गस्तीमा प्रयोग हुँदै आएको चारपाङ्ग्रे दुई वटा गाडी, केही मोटरसाइकल र कार्यालयका सबै सामान जलाएर नष्ट पारेका थिए । प्रभागमा हाजिर हुन आएका प्रहरी निरीक्षकसहितको टोलीलाई वडा नम्बर २५ का अध्यक्ष दौलतकुमार खत्री, वडा नम्बर २२ का अध्यक्ष सागर तुलाधर र वडा नम्बर २१ का अध्यक्ष रवीन्द्र महर्जनसहित स्थानीयवासीले स्वागत गरेका थिए ।
प्रहरी टोलीलाई स्वागत गरेसँगै जलेको भवन पुनः मर्मत गरी प्रयोगमा ल्याउनका लागि स्थानीयस्तरबाट स्थानीय सुमन महतको संयोजकत्वमा ११ जनाको समिति गठन भएको छ । समितिले स्थानीयस्तरबाट श्रमदान, चन्दा र विभिन्न सङ्घ–संस्थाबाट सहयोग जुटाई प्रभागलाई पूर्ण सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।


प्रतिक्रिया