काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन



काठमाडौं । जेनजीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालनमा आउन थालेको छ ।

काठमाडौं उपत्यकामा आज सार्वजनिक बस, ट्याक्सीलगायत सवारीसाधन बिहानैदेखि चलिरहेका छन् । जेनजीको प्रदर्शनका कारण गत मंगलबारदेखि काठमाडौं उपत्यकामा ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन आजदेखि सुरु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

“आज बिहानदेखि बाक्लो संख्यामा सवारीसाधान चलेका छन् । यात्रुहरुको चहलपहल बढेको देखिन्छ,” उनले भने । त्यसैगरी चितवनतर्फबाट आज सार्वजनिक बसहरु काठमाडौंका लागि प्रस्थान गरेकाले काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारीसाधन आज साँझदेखि चल्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

गत मंगलबारदेखि उपत्यकालगायत सबै क्षेत्रमा जेनजीको प्रदर्शन भएसँगै नेपाली सेनाले कर्फ्यु लगाएपछि सार्वजनिक सवारीसाधन बन्द गरिएका थिए । आज बिहानदेखि काठमाडौंको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य बनेको हो ।