आगजनी र डकैती गर्नेहरूको सीसीटीभी फुटेजसहित एनसेलले दियो प्रहरीमा उजुरी

आगजनी र डकैती गर्नेहरूको सीसीटीभी फुटेजसहित एनसेलले दियो प्रहरीमा उजुरी



काठमाडौं । काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा २४ भदाैमा जेन–जी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न अपराधी समूहहरूले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना भएको र कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै सोमबार एनसेलले जिल्ला प्रहरी कार्यलय, काठमाडौंमा उजुरी दर्ता गराएको छ ।

उजुरीमा यी घटनाहरूसँग संलग्न अपराधीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानुनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाई डकैती गरी लगिएको सामान फिर्ता दिलाउन, साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्तिसमेत भराउन माग गरिएको छ ।

आन्दोलनको नाममा अपराधीहरूले समूह बनाई कम्पनीको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरूलाई एकैठाउँमा राखेर जलाउने डरधाक धम्की दिई उनीहरूलाई कोठामा थुनी भवनमा तोडफोड तथा आगजनी गरेको एनसेलले जनाएको छ ।

प्रहरीमा दिइएको उजुरीअनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ । साथै, घटनाको क्रममा कैद भएका सम्पूर्ण सीसीटीभी फुटेज पनि अनुसन्धानलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको जनाएको छ ।