जेन–जी आन्दोलनमा लुटपाट र अराजकता मच्चाउनेको खोजीमा सुर्खेत प्रहरी

जेन–जी आन्दोलनमा लुटपाट र अराजकता मच्चाउनेको खोजीमा सुर्खेत प्रहरी



सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि एक्सन लिन सुरु गरेको छ ।

२३ र २४ भदौमा सुर्खेत जिल्लाका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा भएका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आमसर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्वीर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरू उपलब्ध गराउन सुर्खेत प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले आन्दोलनका नाममा अराजकता फैलाउनेहरूको खोजी कार्य सुरु गरिएको बताए ।

उनले निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाट मच्चाउनेहरूलाई कानुनी दायरामा ल्याएर कसुरअनुसार कारबाही गरिने बताए ।