काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा सहरमा रातभर भएको भीषण आक्रमणपछि मंगलबार गाजा जलिरहेको बताएका छन् । इजरायलले गाजा सहरमा नयाँ आक्रमणको योजना बनाइरहेको बेला उनको यो टिप्पणी आएको हो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायलबाट कतार जाने क्रममा पत्रकारहरूसँग गाजामा आक्रमण सुरु भइसकेको बताएका थिए । उनले भने, “इजरायलले त्यहाँ कारबाही सुरु गरिसकेको छ । त्यसैले हामीलाई लाग्छ, हामीसँग सम्झौताका लागि धेरै कम समय छ । हामीसँग केही दिन वा केही हप्ता मात्र बाँकी छ ।”
अमेरिकी मिडिया आउटलेट एक्सियोसले इजरायली अधिकारीहरूलाई उदृत गर्दै पछिल्लो जानकारी दिएको हो । यसले इजरायली सेनाले गाजा सहर कब्जा गर्नका लागि स्थलगत आक्रमण सुरु गरेको बताएको छ । तर, ‘टाइम्स अफ इजरायल’का अनुसार आईडीएफले हालैका दिनमा सहर र त्यसको वरिपरि हवाई हमलालाई बिस्तारै बढाइरहे पनि घना आवादी भएको उत्तरी सहरमा स्थल सेना पठाएको छैन ।
गाजाका स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूले गाजा सहरमा कुनै पनि इजरायली ट्यांक प्रवेश गरेको कुरालाई अस्वीकार गरेका छन् ।
तर, उनीहरूले गाजा सहरको अधिकांश भागमा तीव्र हवाई हमला र ड्रोनबाट बमबारी भइरहेको पुष्टि गरेका छन् । सहरभरि आगोको लप्का र बाक्लो कालो धुँवा देखिएको छ ।


प्रतिक्रिया