तेहरान । जासुसी गरेको आशङ्कामा इरानमा बाबक शाहबाजी नाम गरेका व्यक्तिलाई फाँसी दिइएको छ ।
तेहरानस्थित एजेन्सी मिजानको रिपोर्ट अनुसार बाबकमाथि इजरायली एजेन्टहरूलाई डेटा सेन्टर र सुरक्षा प्रतिष्ठानसँग सम्बन्धित संवेदनशील जानकारीहरू हस्तान्तरण गरेको र बेचेको आरोप लगाइएको छ ।
मानवअधिकार कार्यकर्ता र सङ्गठनहरूले यो दाबीको विरोध गरेका छन् । शाहबाजीलाई झूटा आरोपमा फसाइएको उनीहरूको भनाइ छ । इरानका सामाजिक र मानवअधिकारवादी कार्यकर्ताहरूका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पत्र लेखेपछि बुधवार मृत्युदण्ड दिनुअघि शाहबाजीलाई हिरासतमा राखिएको थियो ।
शाहबाजीले पत्रमा रुस विरुद्धको युद्धमा सहयोगको प्रस्ताव गरेको बताइएको छ । इरानले रुसलाई युक्रेनमा आक्रमणमा प्रयोग गर्न ड्रोन उपलब्ध गराउँदै आएको छ ।
शाहबाजीलाई मृत्युदण्ड दिनुभन्दा अगाडि नै मानव अधिकार संगठन इरान ह्युमन राइट्सले शाहबाजीलाई मृत्युदण्ड दिन सक्ने चेतावनी दिएको थियो । संस्थाका अनुसार इरानले युक्रेनलाई सहयोगको प्रस्तावलाई ‘इजरायलको लागि जासुसी’ भनेको छ ।
यही पत्रलाई प्रमाणको रूपमा प्रयोग गर्दै शाहबाजीलाई मृत्युदण्ड दिइएको थियो । केही महिना अघि इजरायलसँग १२ दिनको द्वन्द्वपछि इरानले जासुसीको आरोपमा आठ जनालाई मृत्युदण्ड दिएको थियो ।


प्रतिक्रिया