नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा रहेको अत्यधिक वायु प्रदूषणका कारण सहरको एक प्रमुख मुगलकालीन स्मारक, लाल किल्लाको पर्खालमा ‘कालो पत्र’ जमेको एक अध्ययनले देखाएको छ ।
अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार प्रदूषण र रातो बलौटे ढुङ्गाको पर्खालबिचको रासायनिक प्रतिक्रियाबाट बनेका यी पत्रहरू ०.०५ देखि ०.५ मिलिमिटरसम्म बाक्ला छन् ।
यदि समयमै यसको समाधान नखोजिए यसले किल्लाको कलात्मक संरचनामा क्षति पुर्याउन सक्नेछ । यो अध्ययन १७ औँ शताब्दीमा निर्मित यस स्मारकमा वायु प्रदूषणको असरबारे गरिएको पहिलो विस्तृत अध्ययन हो ।
विश्वकै सबैभन्दा प्रदूषित सहरहरूमध्ये एक दिल्लीको वायु गुणस्तर विशेष गरी जाडो महिनामा थप बिग्रने गरेको समाचारमा बारम्बार आइरहेका हुन्छन् । संरक्षणकर्मीहरूले पनि राजधानी र केही अन्य राज्यहरूमा रहेका ऐतिहासिक संरचनाहरूमा प्रदूषणले पार्ने नकारात्मक प्रभावबारे बारम्बार चेतावनी दिँदै आएका छन् ।
सन् २०१८ मा, सर्वोच्च अदालतले सेतो सङ्गमरमरबाट बनेको प्रसिद्ध १७ औँ शताब्दीको समाधि स्थल ताजमहल पनि वायु र जल प्रदूषणका कारण पहेँलो र हरियो(खैरो भएको बताएको थियो। अदालतले उत्तर प्रदेश राज्य सरकारलाई यसको संरक्षणका लागि कदम चाल्न आग्रह गरेको थियो ।
लाल किल्लामा गरिएको यो अध्ययन सन् २०२१ देखि २०२३ सम्म भारत र इटालीका अनुसन्धानकर्ताहरूले गरेका थिए। यसको निष्कर्ष जुन महिनामा वैज्ञानिक जर्नल ‘हेरिटेज’ मा प्रकाशित भएको छ ।
मुगल सम्राट शाहजहाँले बनाएको लाल किल्ला दिल्लीको एक प्रतिष्ठित ऐतिहासिक स्मारक र लोकप्रिय पर्यटकीय स्थल पनि हो ।
सन् १९४७ अगस्ट १६ मा भारत स्वतन्त्र भएको घोषणाको भोलिपल्ट भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुले यसै किल्लाबाट राष्ट्रिय झन्डा फहराएका थिए। त्यसयता, प्रधानमन्त्रीहरूले स्वतन्त्रता दिवसको अवसरमा यसै किल्लाको पर्खालबाट राष्ट्रलाई सम्बोधन गर्दै आएका छन् ।


प्रतिक्रिया