बंगलादेशको निर्वाचन आयोगद्वारा शेख हसिनाको मतदाता परिचयपत्र निष्क्रिय

बंगलादेशको निर्वाचन आयोगद्वारा शेख हसिनाको मतदाता परिचयपत्र निष्क्रिय



काठमाडौं । बंगलादेशमा आगामी वर्ष फेब्रुअरीमा हुने आम चुनावको लागि देशभर तयारी तीव्र हुँदै गर्दा देशको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री शेख हसिनाको राष्ट्रिय परिचयपत्र निष्क्रिय पारिदिएको छ ।

राष्ट्रिय परिचयपत्र निष्क्रिय भएपछि उनले आगामी फेब्रुअरी २०२५ को आम चुनावमा मतदान गर्न पाउने छैनन् ।

निर्वाचन आयोगका सचिव अख्तर अहमदले जसको राष्ट्रिय परिचयपत्र कार्ड निष्क्रिय रहन्छ, उनीहरूले विदेशबाट मतदान गर्न नपाउने बताए । उनले हसिनाको मतदाता परिचयपत्र निष्क्रिय भइसकेको जानकारी दिएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

तर, अख्तर अहमदले अन्य नामहरू उल्लेख नगरे पनि केही सञ्चारमाध्यमका रिपोर्टहरूमा हसिनाकी बहिनी शेख रेहाना, छोरा साजिब वाजेद जय र छोरी साइमा वाजेद पुतुलको पनि मतदाता परिचयपत्र निष्क्रिय गरिएको उल्लेख गरिएको छ ।

यसबाहेक, रेहानाका सन्तान, उनका आफन्तहरू र हसिनाका पूर्वसुरक्षा सल्लाहकार मेजर जनरल तारिक अहमद सिद्दिकी र उनको परिवारलाई पनि मतदान गर्नबाट रोक लगाइएको छ ।

यस सम्बन्धमा निर्वाचन आयोगले न्यायबाट बच्न विदेश भागेका व्यक्तिहरूको राष्ट्रिय परिचयपत्र कार्ड सक्रिय रहेको खण्डमा उनीहरूले अझै पनि मतदान गर्नसक्ने बताएको छ ।