पाकिस्तान र साउदी अरबबीच रक्षा सम्झौता

पाकिस्तान र साउदी अरबबीच रक्षा सम्झौता

एकमाथि हुने हमला दुवैमाथिको आक्रमण मानिने



काठमाडौं । साउदी अरबका युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बुधबार रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौताअनुसार, एक देशमाथि भएको हमलालाई अर्को देशमाथि पनि भएको हमला मानिने रोयटर्सले जनाएको छ ।

दुई देशले संयुक्त वक्तव्य जारी गर्दै यो सम्झौताले दुवै देशको सुरक्षा बढाउने र विश्वमा शान्ति स्थापना गर्ने प्रतिबद्धता देखाउँछ । सम्झौमा दुवै देशबीच रक्षा सहकार्य पनि विकास गर्ने उल्लेख छ ।

एक वरिष्ठ साउदी अधिकारीले नाम नखुलाउने शर्तमा रोयटर्स समाचार एजेन्सीलाई बताएअनुसार सम्झौताअन्तर्गत हरेक प्रकारको सैन्य सहयोग गरिने बताइएको छ । आवश्यक परेमा पाकिस्तानको आणविक हतियारको प्रयोग पनि यसमा समावेश रहेको बताइएको छ ।

यो सम्झौता कुनै खास देश वा घटनाविरुद्धमा गरिएको नभएर दुई देशबीचको लामो समयसम्म चल्ने सहयोगको आधिकारिक रूप भएको एक अधिकारीले रोयटर्सलाई बताए ।

सेप्टेम्बर ९ मा इजरायलले कतारको राजधानी दोहामा हमास प्रमुख खलील अल–हय्यालाई निशाना बनाएर हमला गरेको थियो । यसपछि सेप्टेम्बर १४ मा दोहामा मुस्लिम देशका धेरै नेताहरू इजरायलविरुद्ध एक विशेष बैठकका लागि भेला भएका थिए । यस बैठकमा पाकिस्तानले सबै इस्लामी देशहरूलाई नेटोजस्तो संयुक्त शक्ति बनाउने सुझाव दिएको थियो ।