काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले ‘जेनजी’ आन्दोलनकारीले आगजनी गरेका सम्पत्ति जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा भएपछि तत्काल आगो निभाउन नसकिएको बताएका छन् ।
बोलाइएको ठाउँमा समयमै दमकल नपठाएका कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जनगुनासो आएसँगै महानगर प्रहरी प्रमुख पाण्डेले यस्तो बताएका हुन् ।
बिहीबार (असोज २) बागदरबारमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन, आगजनी र तोडफोडका कारण दमकल सडकमा निस्कन नसकेको जिकिर गरे । भदौ २४ गते साँझ बौद्धबाट निस्कन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा गरिएको उनले बताए । नेपाली सेनाको गाडीमा पनि ढुंगामुढा गरिएको उनले उल्लेख गरे ।
भदौ २४ गते बेलुका सवा ८ देखि राति पौने १० सम्म सिंहदरबारमा दुई दमकल लगेर आगो निभाएको उनले स्पष्ट पारे । सेनाले सुरक्षाको जिम्मेवारी लिएसँगै आगो निभाउन सहज भएको उनको भनाइ थियो ।
भाटभटेनी सुपरमार्केट, हिल्टन होटेल, सर्वोच्च अदालत, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पनि दमकल परिचालन गरिएको उनले बताए । दमकल जान सक्ने अवस्थामा महानगरले ढिलाइ नगरेको उनले जिकिर गरे ।
महानगरपालिकाले उपत्यकामा पाँच दमकल परिचालन गरेको उनले बताए । महानगर प्रहरी घाइतेको उपचार, खानपानको व्यवस्थामा समेत खटिएको उनले जानकारी दिए ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको भनाइ :
हामीलाई दमकल किन निस्केन भनेर प्रश्न आइरहेको थियो । तर, आन्दोलन, आगजनी र तोडफोड भएका कारणले दमकल सडकमा निस्किन सकेन र साँझ बौद्धबाट निस्किन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भएको र नेपाली सेनाको गाडीमा पनि ढुंगामुढा भएको छ । अगाडि बढ्न नसकेको अवस्थामा हामी कुरिरहेका थियौँ । सवा ८ बजेदेखि पौने १० सम्म हामीले सिंहदरबारमा दुईवटा दमकल लगेर निभाएका थियौँ । सुरक्षाका लागि नेपाली सेना खटिएपछि समन्वय गरेर आवश्यक ठाउँमा खटिएका थियौँ । रातभर खटियौँ । पटकपटक आगो निभाएपछि पनि आगो ननिभेर पुनः लागेकाले दशौँपटक हामी गएका छौँ । भाटभटेनी, हिल्टन, सर्वोच्च अदालत, सिंहदरबारमा पनि दमकल परिचालन गरेका थियौँ । हामी कुनै हालतमा पनि दमकल जान सक्ने अवस्थामा ढिलाइ गरेका छैनौँ । महानगरले दमकल पठाएन भन्ने कुरा गलत हो । हामीले सुरक्षाको प्रत्याभूतिको आधारमा दमकल सुरक्षित रहेर उपयोग गरेका हौँ ।


प्रतिक्रिया