प्यालिस्टिनलाई मान्यता दिने देशसँग नेतन्याहू आक्रोशित

प्यालिस्टिनलाई मान्यता दिने देशसँग नेतन्याहू आक्रोशित



काठमाडौं । बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालिस्टिनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आक्रोशित बनेका छन् । नेतन्याहूले प्यालिस्टिनलाई मान्यता दिनु आतंकवादका लागि ठूलो इनाम दिनुजस्तै भएको बताएका छन् ।

उनले भने, “मसँग तपाईंहरूका लागि अर्को के सन्देश छ भने प्यालिस्टिन राज्यको स्थापना कहिल्यै हुनेछैन ।” नेतन्याहूले आफू अमेरिकाबाट फर्किएपछि इजरायलको प्रतिक्रिया घोषणा गर्ने बताएका छन् ।

नेतन्याहू संयुक्त राष्ट्रसंघको महासभा बैठकमा भाग लिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न अमेरिका पुगेका छन् ।
इजरायली प्रधानमन्त्री नेतन्याहूका प्रवक्ता शोश बद्रोसियनले पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले युरोपको राजनीतिक आवश्यकताका कारण आफ्नो देशले प्यालिस्टिन लाई राष्ट्रको रूपमा स्वीकार गरी आत्महत्या नगर्ने स्पष्ट पारेको बताए । उनले प्यालिस्टिन कहिल्यै देश बन्न नसक्ने पनि बताए ।