काठमाडौं । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले विद्रोही समूह हमासलाई कडा चेतावनी दिँदै हतियार बुझाउन आह्वान गरेका छन् । प्यालेस्टाइन राज्य मात्र गाजामा शासन गर्न र सुरक्षा सुनिश्चित गर्न योग्य निकाय भएको दाबी गर्दै उनले प्यालेस्टिनी प्राधिकरणलाई हतियार बुझाउन भनेको समाचार संस्था एएनआईले जनाएको छ ।
संयुक्त राष्ट्र महासभाको विशेष सत्रमा भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री अब्बासले एउटै कानून र वैध सुरक्षा बल अन्तर्गत एकीकृत प्यालेस्टिनी राज्यको दृष्टिकोण प्रस्तुत गरेका छन् । अब्बासले शासनमा हमासको कुनै भूमिका नहुने स्पष्ट गर्दै हमास र अन्य गुटहरूले प्राधिकरणलाई आफ्ना हतियार बुझाउनैपर्ने बताए ।
जुलाईमा पारित न्युयोर्क घोषणाप्रति कृतज्ञता व्यक्त गर्दै उनले यसलाई मानवीय सङ्कट र इजरायली कब्जा अन्त्य गर्ने अपरिवर्तनीय बाटोको शुरुआत रहेको बताए । घोषणामा पूर्वी जेरुसेलमलाई राजधानी बनाएर इजरायलसँग शान्तिपूर्वक बस्ने स्वतन्त्र प्यालेस्टिनी राज्यको कल्पना गरिएको छ ।
अब्बासले तत्काल र स्थायी युद्धविराम, संयुक्त राष्ट्रसङ्घमार्फत निर्बाध मानवीय पहुँच, सबै बन्धक तथा कैदीको रिहाइ, गाजाबाट इजरायली सेनाको फिर्ती र गाजा–पश्चिम किनारको पुनर्निर्माणको आवश्यकतामा जोड दिएका छन् ।
बेलायत, फ्रान्स, अस्ट्रेलिया, क्यानडालगायतका देशहरूले प्यालेस्टाइनलाई स्वतन्त्र देशका रूपमा मान्यता दिएपछि प्यालेस्टाइनले विद्रोही समूह हमासलाई हतियारविहीन बनाएर इजरायलसँग मिलेर बस्ने बताउन थालेको छ । यसले मध्यपूर्वमा शान्ति कायम हुने प्यालेस्टिनी राष्ट्रपति अम्बासको विश्वास छ ।


प्रतिक्रिया