तुइन खोला पहिरो : पोखरा–काठमाडौं यातायात समेत प्रभावित

तुइन खोला पहिरो : पोखरा–काठमाडौं यातायात समेत प्रभावित



पोखरा । मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा– काठमाडौं सडकखण्डमा पनि पर्ने गरेको छ ।

उक्त पहिरोका कारण मुग्लिनखण्डमा सवारी साधनको अत्याधिक चाप बढ्न थालेसँगै त्यसको प्रभाव पोखरा–काठमाडौं आवतजावत चल्ने सवारी साधनमा परेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए ।

उक्त पहिरोका कारण सडकमा सवारी साधनको जाम हुन थालेपछि यात्रुहरूलाई समयमा नै गन्तव्यमा पुर्‍याउन नसकिएको उनले बताए । लगातार पहिरो जान थालेपछि मुग्लिन–नारायणगढ सडकखण्ड बन्द गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

उनले भने, “मुग्लिन–नारायणगढ खण्डमा सडक यातायात प्रभावित भएसँगै नेपालका पश्चिमी क्षेत्रमा जाने सवारी साधन पोखरा हुँदै जान थालेका कारण पनि सवारी साधनको चाप अत्याधिक छ ।”

पोखरा–काठमाडौं खण्डमा पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत नियमित ४०० को सङ्ख्याका यात्रुवाहक सवारी साधनले सेवा दिइरहेको उनले जानकारी दिए ।

दसैँको टीकाको दिन नजिकिँदै गर्दा ठुलो सङ्ख्यामा सर्वसाधारण आवतजावत गर्ने भए पनि सडक अवरुद्ध हुँदा आवतजावतमा कठिनाइ भएको उनले बताए ।