काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेश्कियानले आणविक कार्यक्रमका विषयमा विश्वव्यापी प्रतिबन्धको पुनर्बहालीको घटना आकाश खसेजस्तो स्थिति नभएको प्रतिक्रिया दिएका छन् ।
उनी शनिबार न्युयोर्कबाट फर्कंदै थिए, जहाँ उनी पश्चिमा देशलाई यो कदम (प्रतिबन्ध) टार्नका निम्ति मनाउन असफल भएका थिए ।
पेजेश्कियानले न्युयोर्कबाट प्रस्थान गर्नुअघि इरानी टीभीसँग भने, “यो आकाश खसेजस्तो होइन । यदि, हामी कमजोर भयौँ भने उनीहरूले हामीलाई कुचल्नेछन् । तर, यदि हामी एकजुट भयौँ भने यो संकटसँग डराउनु पर्दैन ।”
पेजेश्कियान न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएका थिए । राष्ट्रसंघका सबै प्रतिबन्ध शनिबार रातिदेखि लागु भएको छ ।
राष्ट्रसंघका प्रतिबन्धको पुनर्बहालीमा इरानले तत्कालको प्रतिक्रियात्मक कदम शनिबार घोषणा गरेको छ । त्यसअन्तर्गत इरानले बेलायत, फ्रान्स र जर्मनीबाट आफ्ना राजदूतलाई सल्लाह/परामर्शका निम्ति फिर्ता बोलाएको छ । इरानले योभन्दा पनि कडा कदम चाल्ने चेतावनी दिएको छ ।
बेलायत, फ्रान्स र जर्मनीले ३० दिनको प्रक्रिया सुरु गरेका थिए । त्यसमा उनीहरूले इरानमाथि सन् २०१५ को आणविक सम्झौताको उल्लंघन गरेको आरोप लगाएका थिए । यो सम्झौता इरानलाई आणविक हतियार बनाउनबाट रोक्न गरिएको थियो । इरानले आफूले आणविक हतियार बनाउन नचाहेको जिकिर गर्दै आएको छ ।
इरानले पश्चिमी देशलाई प्रतिबन्धको पुनर्बहालीले गम्भीर नतिजा निम्त्याउने चेतावनी दिएको छ ।

प्रतिक्रिया