अमेरिकाले युक्रेनलाई लामो दुरीको मिसाइल दिएमा सम्बन्धमा असर पर्ने पुटिनको चेतावनी

अमेरिकाले युक्रेनलाई लामो दुरीको मिसाइल दिएमा सम्बन्धमा असर पर्ने पुटिनको चेतावनी



काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई लामो दुरीका मिसाइलहरू उपलब्ध गराएमा यसले मस्को–वासिंगटन सम्बन्धलाई गम्भीर रूपमा प्रभावित गर्ने चेतावनी अमेरिकालाई दिएका छन् ।

तर, उनले यसले युद्धको नतिजा नबदल्ने स्पष्ट गर्दै रूसी सेना ढिलो भए पनि निरन्तर अगाडि बढिरहेको बताए । पुटिनका अनुसार, यदि अमेरिकाले टमहक क्रुज मिसाइलहरू किभलाई उपलब्ध गराएमा यो रूस–अमेरिका सम्बन्धमा तनावको नयाँ र खतरनाक चरण हुनेछ ।

पुटिनले रूसी वायु रक्षा प्रणालीले यस्तो खतरासँग छिट्टै जुध्न सक्ने र यसले युद्ध मैदानमा सन्तुलनमा खासै असर नपार्ने दाबी गरे ।यसैबीच, पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्दै अगस्टमा अलास्कामा भएको भेटलाई फलदायी रहेको बताएका छन् ।

उनका अनुसार, सो भेटवार्ताले युक्रेन संकटको समाधान खोज्ने दिशामा राम्रो पहल गरेको थियो ।

यस्तै, पुटिनले पश्चिमा मुलुकहरूलाई चेतावनी दिँदै रूसी तेल बोकेका जहाजहरू कब्जा गर्ने प्रयास भए यो ‘समुद्री डकैती’ हुने र यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिए ।

फ्रान्सले हालै एक तेल ट्यांकर रोकेको घटनालाई उनले राष्ट्रपति इम्यानुएल म्याक्रोंको आन्तरिक समस्याबाट ध्यान हटाउने चाल भएको टिप्पणी गरे ।

अमेरिकी रुढीवादी नेता चार्ली कर्कको हत्याबारे पुटिनले यसलाई गम्भीर अपराध भएको उल्लेख गर्दै, यो घटनाले अमेरिकी समाजभित्र गहिरो विभाजन देखाएको बताए ।

त्यस्तै, पुटिनले माइकल ग्लसको पनि प्रशंसा गरे । सीआईए अधिकारीका छोरा रहेका उनी रूसी सेनामा सामेल भई २०२४ मा युक्रेन युद्धमा मारिएका थिए ।

उनलाई मरणोपरान्त रूसको वीरता पदक दिइएको थियो, जुन ट्रम्पका दूतलाई मस्को भ्रमणका क्रममा हस्तान्तरण गरिएको थियो ।