गाजा युद्ध अन्त्य गर्न द्रुत गतिमा अघि बढ्न ट्रम्पको आग्रह

गाजा युद्ध अन्त्य गर्न द्रुत गतिमा अघि बढ्न ट्रम्पको आग्रह



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध अन्त्य गर्ने प्रयासमा संलग्न सबैलाई छिटो अघि बढ्न आग्रह गरेका छन् ।

हमास र इजरायलबीच अप्रत्यक्ष शान्ति वार्ताका निम्ति मध्यस्थकर्ता आज इजिप्टमा भेट्ने कार्यक्रम छ ।

हमासले २० बुँदे अमेरिकी शान्ति योजनाका केही भागमा सहमति जनाएको समयमा यो वार्ता हुँदै छ ।

उक्त योजनामा बन्धक मुक्त गर्ने र गाजाको शासन प्यालेस्टाइनी प्राविधिकलाई हस्तान्तरण गर्ने विषय समावेश छ । तर, हमासले अरू मुद्दामा वार्ता गर्न खोजिरहेको छ ।

वार्ता धेरै सफल भएको भन्दै सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्, “पहिलो चरण यो हप्ताभित्र पूरा हुनुपर्छ र म सबैलाई छिटो अघि बढ्न आग्रह गर्दछु ।”

अमेरिकी राष्ट्रपतिले समयको महत्त्व रहेको भन्दै नत्र ठूलो रक्तपात हुने बताए ।

पत्रकारसँग यसअघि ट्रम्पले बन्धक धेरै चाँडै मुक्त गर्न सुरु गरिनेछ भन्ने आफूलाई लागेको बताएका थिए ।

आफ्नो शान्ति योजनामा लचकताबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, “हामीलाई लचकता चाहिँदैन, किनभने सबैले यसमा लगभग सहमति जनाइसकेका छन् । तर, सधैँ केही परिवर्तन हुनेछन् ।”