काठमाडौं । इजरायली कारागार सेवाले सोमबार गाजामा युद्धविराम सम्झौताको एक भागको रूपमा करिब २ हजार प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गरेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘देशभरका विभिन्न जेलबाट १ हजार ९६८ जना ‘आतङ्ककारी’लाई आवश्यक प्रक्रियाका लागि ओफर र क्ट्जियोट जेलमा स्थानान्तरण गरिएको छ ।’
‘जेलमा आवश्यक गतिविधिहरू पूरा भएपछि र राजनीतिक अधिकारीहरूको स्वीकृतिपछि रिहा गरिएका सबै प्यालेस्टाइनी बन्दीलाई ओफर जेलबाट वेस्ट बैङ्क, पूर्वी जेरुसेलम र क्ट्जिओट जेलबाट केरेम शालोममा रिहा गरिएको छ ।’ गाजातर्फ प्रवेश गर्ने एक स्थानलाई सङ्केत गर्दै विज्ञप्तिमा भनिएको छ ।
इजरायल–गाजा युद्धविराम सम्झौताअनुसार यसअघि सोमबार नै प्यालेस्टाइनी सशस्त्र लडाकु समूह (हमास)लगायतका अन्य समूहद्वारा ७ अक्टुबर २०२३ मा दक्षिणी इजरायलमा भएको आक्रमणमा बन्धक बनाइ लगिएका बाँकी सबै जीवित बन्धकलाई रेडक्रसको जिम्मा लगाई गाजाबाट इजरायलतर्फ फिर्ता गरिएको थियो ।
सम्झौताअनुसार सबै जीवित र मृत बन्धकलाई सोमबार नै फिर्ता गर्ने भनिए पनि मृतक र बेपत्ता भनिएका २८ मध्ये यो समाचार तयार पार्दासम्म चार जनाको मृत शरीर इजरायलतर्फ पठाइएको छ ।


प्रतिक्रिया