भारतमा एआई डाटा हब निर्माण गर्न गुगलले १५ अर्ब डलर लगानी गर्ने

भारतमा एआई डाटा हब निर्माण गर्न गुगलले १५ अर्ब डलर लगानी गर्ने



काठमाडौं । गुगलको मातृ कम्पनी अल्फाबेटले दक्षिणी भारतको आन्ध्र प्रदेश राज्यमा एआई डाटा हब निर्माण गर्न १५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।

बन्दरगाह शहर विशाखापटनममा निर्माण हुने यो सुविधा १२ वटा देशमा फैलिएको गुगलको एआई केन्द्रहरूको विश्वव्यापी नेटवर्कको एक हिस्सा हुने बीबीसीले जनाएको छ ।

यो अमेरिकाबाहिर विश्वको कुनै पनि ठाउँमा लगानी गर्ने सबैभन्दा ठूलो एआई हब भएको गुगल क्लाउडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थोमस कुरियनले बताउनुभएको छ । उहाँका अनुसार कम्पनीले ५ वर्षभित्रमा १५ अर्ब डलर लगानी गर्नेछ ।

भारत एआई डाटा सेन्टरहरूका लागि एक प्रमुख गन्तव्यको रूपमा देखा परेको छ । कम डाटा लागत र द्रूत गतिमा बढ्दो इन्टरनेट प्रयोगकर्ता आधारले भारत टेक दिग्गजहरूका लागि क्लाउड र एआई विस्तारको केन्द्र बनेको खबरमा उल्लेख छ ।

ब्लूमबर्ग न्यूजका अनुसार यो परियोजना आन्ध्र प्रदेश सरकारको सन् २०२९ सम्ममा ६ गिगावाट डाटा सेन्टर क्षमता विकास गर्ने योजनाको एक हिस्सा हो ।