नयाँ दिल्ली । केन्याका प्रभावशाली विपक्षी नेता राइला ओडिङ्गाको ८० वर्षको उमेरमा भारतमा उपचारको क्रममा निधन भएको छ । स्थानीय प्रहरी र अस्पतालका अधिकारीहरूका अनुसार हृदयाघातका कारण उनको मृत्यु भएको हो ।
दक्षिण भारतको केरला राज्यस्थित देवमाथा अस्पतालले पूर्वप्रधानमन्त्री समेत रहेका ओडिङ्गाको हृदयाघातबाट निधन भएको पुष्टि गरेको छ ।
उनी विपक्षी नेताको रूपमा सन् १९९७ देखि २०२२ बिच पाँच पटक राष्ट्रपति चुनावमा असफल भएका थिए । ओडिङ्गाको मृत्युले सन् २०२७ को चुनावअघि केन्याको राजनीतिक विपक्षी दलमा ठुलो नेतृत्व शून्यता सिर्जना गर्नेछ ।
भारतीय प्रहरी अधिकारीका अनुसार बिहान मर्निङ वाकमा निस्कँदा उनी ढलेका थिए । एर्नाकुलम, केरलाका अतिरिक्त प्रहरी उपरीक्षक कृष्णन एमले भने, ‘उनलाई नजिकैको निजी अस्पतालमा लगिएको थियो, तर मृत घोषित गरियो ।’
सन् १९४५ जनवरी ७ मा जन्मेका ओडिङ्गा स्वतन्त्रतापछि देशका प्रथम उप-राष्ट्रपतिको छोरा थिए । लोकतन्त्रको पक्षमा अभियान चलाउने क्रममा उनले निर्वासन र आठ वर्ष जेल जीवन बिताए पनि केन्याको राष्ट्रपति बन्ने आफ्नो लक्ष्य भने कहिल्यै हासिल गर्न सकेनन् ।


प्रतिक्रिया