काठमाडौं । पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल सैयद आसिम मुनीरले शनिबार अफगानिस्तानलाई शान्ति र अराजकतामध्ये एउटा रोज्न चेतावनी दिएका छन् ।
उनले काबुललाई अफगानी भूमि प्रयोग गरेर पाकिस्तानभित्र आक्रमण गर्ने आतंकवादीविरुद्ध कडा र तत्काल कारबाही गर्न भनेका छन् ।
मुनीरको यो भनाइ पाकिस्तानले शुक्रबार अबेर राति अफगानिस्तानमा रहेका आतंकवादी लुक्ने स्थानलाई निसाना बनाएर ताजा हवाई हमला गरेपछिको हो । उक्त हवाई हमला पाकिस्तान र अफगानिस्तानले दुईदिने युद्धविरामको समय बढाएको केही घण्टापछि गरिएको थियो ।
मुनीरले अफगान भूमि प्रयोग गर्ने सबै छद्म समूहलाई धुलोमा मिलाउनेजस्तो जवाफ दिइने चेतावनी पनि दिए ।
पाकिस्तानले शुक्रबार गरेको आक्रमण उत्तर वजिरिस्तानस्थित एक सैन्यचौकीमा आतंकवादीले बन्दुक र बमबाट हमला गरेपछिको थियो । उक्त हमलाको जिम्मेवारी तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी)को हाफिज गुल बहादुर समूहले लिएको थियो ।
दुवै देशका प्रतिनिधि वार्ताका निम्ति कतारको राजधानी दोहामा भेट्दै गर्दाको समयमा यी हमला गरिएको छ । दोहामा दुवै देशका प्रतिनिधिलाई कतार सरकारले मध्यस्थताको प्रयास गर्दै छ ।
पकिस्तानले तालिबान सरकारलाई सीमापार आक्रमणका निम्ति अफगान क्षेत्र प्रयोग गर्ने आतंकवादी समूहलाई रोक्न निरन्तर आग्रह गरिरहेको छ । अफगानिस्तानले यस्तो आरोप अस्वीकार गर्दै आएको छ । अफगान भूमिको प्रयोग कुनै पनि छिमेकी देशविरुद्ध नगरिएकामा उसले जोड दिएको छ ।
पाकिस्तानमा प्रतिबन्धित टीटीपीले बारम्बार आतंकवादी हमला गरेपछि यी दुई छिमेकीबीचको सम्बन्ध बिग्रिएको छ । पीटीआईबाट


प्रतिक्रिया