पाकिस्तान र अफगानिस्तान तत्काल युद्धविराम गर्न सहमत

पाकिस्तान र अफगानिस्तान तत्काल युद्धविराम गर्न सहमत



काठमाडौं । कतारको दोहामा भएको शान्ति वार्तापछि पाकिस्तान र अफगानिस्तानले तत्काल युद्धविराम गर्न सहमति जनाएका छन् ।

एक हप्ताको सीमा झडपपछि दोहामा वार्ताका क्रममा अफगानिस्तान र पाकिस्तानले तत्काल युद्धविराम गर्न सहमति जनाएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । सन् २०२१ मा तालिबान पुनः अफगानिस्तानको सत्तामा फर्किएपछि यो दुवै देशबीचको सबैभन्दा ठूलो द्वन्द्व मानिएको छ ।

युद्धविरामलाई अन्तिम रूप दिइएको र दुवै पक्षले विस्तृत विषयमा छलफल गर्न आउँदो शनिवार टर्कीको इस्तानबुलमा फेरि फेट्ने पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यस्तै तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पूर्ण र अर्थपूर्ण युद्धविराममा सहमत भएको बताए ।

दुई एशियाली छिमेकीहरूबीचको सीमा झडप अक्टोबर ११ मा चर्किएको थियो । तालिबानका विदेशमन्त्री आमिर खान मुत्ताकी भारतको भ्रमणमा रहेका बेला अफगानिस्तानको काबुलमा विस्फोट भएको थियो । त्यसको केही दिनपछि तालिबान लडाकूहरूले पाकिस्तानको दक्षिणी सीमामा आक्रमण गरेपछि पाकिस्तानले कठोर जवाफ दिने चेतावनी दिएको थियो ।

यस्तै गएको शुक्रवार राति अफागानिस्तानको पक्तिका प्रान्तका तीन ठाउँमा हवाई आक्रमण गर्दा १० सर्वसाधारणको ज्यान गएको र १२ जना घाइते भएका विवरण सार्वजनिक भएका छन् ।

पाकिस्तानी अधिकारीहरूले अफगान भूमिबाट तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) जस्ता सशस्त्र समूहहरूले आक्रमण गरिरहेको आरोप लगाउँदै आएका छन् । यो आरोपलाई तालिबानले अस्वीकार गर्दै आएको छ ।