इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप/प्रत्यारोप

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप/प्रत्यारोप



काठमाडौं । इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप/प्रत्यारोप शुरु भएको छ । हमासका लडाकुले आफ्नो सेनाविरुद्ध आक्रमण गरेका र जवाफमा हवाई आक्रमण गरेको इजरायली सेनाले बताएको छ । यद्यपि, हमासले युद्धविरामको पालना गरेको दाबी गरेको छ ।

हमासका अधिकारीले इजरायलले आक्रमण पुनः शुरु गर्न ‘बहाना’ बनाएको आरोप समेत लगाएका छन् । हमास र इजरायलबीच आक्रमणको आरोप प्रत्यारोप भइहँदा गाजा युद्ध रोक्न नौ दिन पहिले गरिएको युद्धविरामलाई दुबै पक्षले यदाकदा उल्लङ्घन गरेका देखिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सुरक्षा फौजलाई गाजा पट्टीमा रहेका आतङ्कवादी लक्ष्यविरुद्ध कडा कारबाही गर्न निर्देशन दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा अक्टोबर १० देखि लागू भएको प्यालेस्टाइन क्षेत्रमा भएको युद्धविरामले इजरायल र हमासबीच दुई वर्षभन्दा बढी समयदेखि जारी विनाशकारी युद्ध रोकेको छ ।

सम्झौताले बन्धक र कैदी आदानप्रदान गर्ने सहमति अनुरुप नै दुवै पक्षबाट बन्धी आदानप्रदान भएका छन् ।