काठमाडौं । अमेरिका र अस्ट्रेलियाले दुर्लभ खनिज आपूर्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । संवेदनशील खनिजमा चीनको एकाधिकारलाई चुनौती दिने विकल्पका रूपमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्रेलियासँग नयाँ सम्झौता गरेका हुन् ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थाेनी अल्बानीजले आफ्नो देशको उत्खनन र प्रशोधन क्षमता बढाउन सघाउ पुर्याउने साढे आठ अर्ब अमेरिकी डलर लागतको पाइपलाइन निर्माणमा सहयोग गर्ने विषय पनि सम्झौतामा समेटिएको बताएको बीबीसीले जनाएको छ ।
सम्झौताको खाकामा दुवै देशले अमेरिका र अस्ट्रेलियाका परियोजनाहरूमा आउँदो ६ महिनाभित्र एक अर्ब अमेरिकी डलर लगानी गर्ने उल्लेख छ ।
अस्ट्रेलियाले अमेरिका र बेलायतसँग गरेको ओकस पनडुब्बी सम्झौताको पनि अमेरिकी राष्ट्रपति ट्रम्पले प्रशंसा गरेका छन् । अहिले चीनले ७० प्रतिशत पृथ्वीका दुर्लभ खनिजहरू र ९० प्रतिशत प्रशोधित सामग्रीहरूमाथि नियन्त्रण कायम गरेको छ ।
यस्ता खनिज रक्षा सामग्री कम्प्युटर चिप्स र कारमा प्रयोग गर्ने गरिन्छन् । अमेरिकी कम्पनीहरू यस्ता सामग्रीमा निकै परनिर्भर छन् । अमेरिकी कर वृद्धि र अन्य तनावहरूका कारण यसै वर्ष चीनले आपूर्तिलाई नियन्त्रण गर्न कदमहरू चालेपछि उनीहरूको चिन्ता थपिएको थियो ।


प्रतिक्रिया