युक्रेन युद्ध अन्त्यका लागि ट्रम्प र पुटिनबीच हुने भनेको बुडापेस्ट शिखर बैठक रद्द

युक्रेन युद्ध अन्त्यका लागि ट्रम्प र पुटिनबीच हुने भनेको बुडापेस्ट शिखर बैठक रद्द



काठमाडौं । युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुन लागेको शिखर बैठक रद्द भएको छ । अर्को हप्ता ट्रम्प र पुटिनबीच हंगेरीको राजधानी बुडापेस्टमा भेटवार्ता हुने भनिएकोमा त्यो रद्ध भएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रूबियो र रूसी विदेशमन्त्री सेर्गेइ लावरोभबीच टेलिफोन कुराकानी भएपछि भेटवार्ताको योजना स्थगित भएको हो । अमेरिकी राष्ट्रपती कार्यालय ह्वाइट हाउसले ट्रम्प र पुटिनबीच निकट भविष्यमा अब कुनै बैठकको योजना नरहेको जनाएको छ ।

गाजामा युद्धविराम गराउन सफल भएपछि ट्रम्पले युक्रेन युद्ध रोक्ने पहललाई तिब्रता दिएका थिए । रोकिएको शान्ति वार्ता पुनः सुरू गर्न चलिरहेको कूटनीतिक प्रयासबीच बुडापेस्ट शिखर बैठक घोषणा गरिएको थियो । तर बैठक रद्ध भएपछि पुटिनको जिद्दीपनबाट ट्रम्प रूष्ट बनेका छन् ।

उनले युक्रेनलाई लामो दूरीका टोमहक मिसाइलहरू दिने सङ्केत गरेको बीबीसीले जनाएको छ । यसले युक्रेनी सेनालाई रुसी राजधानी मस्कोभित्रै आक्रमण गर्न सक्षम बनाउनेछ ।