काठमाडौं । युरोपेली संघ (ईयू)ले बुधबार रुसमाथि आफ्नो १९औँ प्रतिबन्ध ‘प्याकेज’लाई स्वीकृति दिएको छ । यो नयाँ प्याकेजमा रुसी तरल प्राकृतिक ग्यास (एलएनजी)को आयातमा प्रतिबन्ध, छद्म तेल ट्यांकरको समूहविरुद्ध कारबाही र रुसको वित्तीय क्षेत्रमा नयाँ प्रतिबन्ध समावेश छ ।
एक दिनअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी तेल उद्योगमाथि नयाँ प्रतिबन्ध लगाएका थिए । यो कदम रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध समाप्त गर्न वार्ताका निम्ति बाध्य पार्ने प्रयास हो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका निम्ति यो ठूलो जित हो । उनले ब्रसेल्समा भने, “हामी यसको पर्खाइमा थियौँ । र, यो धेरै महत्त्वपूर्ण छ ।”
रुस–युक्रेन युद्ध तीन वर्षभन्दा बढी समयदेखि जारी छ । युद्ध अन्त्यको कुनै संकेत देखिएको छैन । युक्रेनले रुसी सैनिकलाई करिब एक हजार किलोमिटर लामो सीमामा रोकिराखेको छ ।
दैनिक रुसी आक्रमणले कडा जाडोमा युक्रेनको बिजुली प्रणालीलाई निसाना बनाइरहेको छ । युक्रेनी सेनाले पनि रुसी तेल रिफाइनरी र हतियार कारखानामाथि हमला गरिरहेको छ ।


प्रतिक्रिया