युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेन : डब्लुएचओ

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेन : डब्लुएचओ



काठमाडौं । हमास र इजरायलबीच गाजामा युद्धविराम भएपछि पनि भोकमरीको अवस्था कम हुन नसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।

युद्धविरामपछि गाजामा जाने सहायताको मात्रामा थोरै सुधार भएको तर भोकमरीको अवस्थामा खासै कमी नआएको डब्लुएचओले जनाएको हो । सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेसियसले जेनेभामा पत्रकारसँग बोल्दै अवस्था अहिले पनि भयावह नै रहेको बताए ।

अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीच गएको अक्टोबर १० तारिखदेखि युद्धविराम लागू भएको हो । युद्धविराम लागू भएको दुई हप्ता बितिसक्दा पनि गाजामा भोकमरीको अवस्थामा कुनै कमी नआउनुको मुख्य कारण त्यहाँ पर्याप्त खाना नरहेको गेब्रेसियसले बताए ।

इजरायलले युद्धको क्रममा गाजापट्टीलाई दिने सहायता पटक–पटक बन्द गर्दा गम्भीर मानवीय अवस्थालाई अझ खराब बनाएको थियो । संयुक्त राष्ट्रसङ्घले प्यालेस्टाइनको केही भागमा भोकमरीको अवस्था रहेको जनाएको छ ।

सन् २०२५ को शुरूदेखि गाजामा कुपोषणको प्रभावबाट चार सय ११ जनाको ज्यान गएको र यसमध्ये एक सय ९ बालबालिका रहेका प्यालेस्टाइन क्षेत्रका लागि डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले बताएका छन् ।