काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एशिया भ्रमण शुरू गरेका छन् । ट्रम्पकाे भ्रमणको मुख्य उद्देश्य चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय व्यापार वार्ता गर्नु रहेको छ ।
विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्ध अन्त्य गर्नका लागि चिनयाँ राष्ट्रपति सीसँग दक्षिण कोरियामा हुने भेटलाई ट्रम्पले ‘निर्णायक क्षण’ भनेका छन् । जनवरीमा ह्वाइट हाउस फर्किएपछि यो उनको पहिलो एशिया भ्रमण हो । भ्रमण अन्तर्गत उनी मलेशिया, जापान र दक्षिण कोरियामा पुग्नेछन् ।
वाशिङ्टनबाट प्रस्थानअघि ट्रम्पले पत्रकारसँग कुरा गर्दै उत्तर कोरियाली नेता किम जोङ–अनसँग पनि भेटको सम्भावना रहेको बताएको समाचार संस्था एएफपीले जनाएको छ ।
ट्रम्पको भ्रमणको पहिलो गन्तव्य मलेशिया हुनेछ । त्यहाँ उनी आइतवार दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्घ (आसियान) शिखर सम्मेलनमा सहभागी हुनेछन् । सोमवार जापान पुग्नु हुने ट्रम्पले मङ्गलवार जापानकी प्रधानमन्त्री साने ताकाइचीसँग भेट्नेछन् ।
राष्ट्रपति ट्रम्पको भ्रमणको मुख्य आकर्षण भने दक्षिण कोरिया हुनेछ । त्यहाँ उनले बिहीवार चिनियाँ राष्ट्रपति सीसँग भेट गर्ने तय भएको छ ।
चीनले दुर्लभ खनिज तत्त्व निर्यात प्रतिबन्ध र अमेरिकाले लगाएका नयाँ करहरूका कारण सम्बन्ध पुनर्सन्तुलनका लागि यो वार्ता अत्यन्तै संवेदनशील मानिएको छ ।


प्रतिक्रिया