विश्व बजारबाट रुसी तेल र ग्यास हटाउने युक्रेनका सहयोगीहरूको प्रतिबद्धता

विश्व बजारबाट रुसी तेल र ग्यास हटाउने युक्रेनका सहयोगीहरूको प्रतिबद्धता



काठमाडौं । युक्रेनका सहयोगी देशहरूले विश्व बजारबाट रुसी तेल र ग्यास हटाउने प्रतिबद्धता जनाएका छन् ।

युक्रेनलाई समर्थन गर्ने २० भन्दा धेरै देशले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न दबाव दिने प्रयासका रूपमा विश्व बजारबाट रुसी तेल र ग्यास हटाउने वाचा गरेका बीबीसीले जनाएको छ ।

बेलायतमा इच्छुकहरूको गठबन्धनको शिखर सम्मेलन आयोजना गरेपछि बेलायतका प्रधानमन्त्री सर केअर स्टार्मरले आफूहरूले रुसको युद्ध मेशिनका लागि कोष बन्द गर्न लागेको बताएका छन् ।

बेलायत र अमेरिकाले पछिल्ला दिनहरूमा रुसका दुई ठूला तेल कम्पनीमाथि प्रतिबन्ध लगाएका छन् भने युरोपेली सङ्घले रुसको तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यातलाई लक्षित गरेको छ ।

यसैबीच लन्डनमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि दबाव नै युद्ध रोक्ने एक मात्र उपाय भएको बताएका छन् । यद्यपि शिखर सम्मेलनमा रुससँगको युद्धमा युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र दिने घोषणा नभएको बीबीसीको खबरमा उल्लेख छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकामा निर्मित टोमाहक्स र युरोपेली क्षेप्यास्त्रहरूले रुसभित्रका तेल रिफाइनरी र हतियार डिपोहरूसहित प्रमुख सैन्य लक्ष्यहरूमा प्रहार गरेर रुसलाई कमजोर बनाउन सकिने तर्क गरेका छन् ।