कोलकाता । पाँच वर्षको अवरोधपछि भारत र चीनबिच आइतबार प्रत्यक्ष हवाई उडानहरू पुनः सुरु भएका छन् । यो कदम व्यापार र जनता–जनताबिचको सम्पर्कका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ । यसले एसियाका दुई दिग्गज राष्ट्रबिच सम्बन्ध पुनर्निर्माणको प्रतिकात्मक सुरुवात गरेको छ ।
विश्वका सबैभन्दा धेरै जनसङ्ख्या भएका छिमेकी यी दुई देशबिच लामो समयदेखि रणनीतिक प्रतिस्पर्धा रहँदै आएको छ । सन् २०२० मा हिमाली सीमामा भएको घातक झडपपछि सम्बन्धमा आएको तिक्तता विस्तारै घट्दै गएको छ ।
भारत सरकारका अनुसार उडान पुनः सुरु हुनु ‘जनता–जनताबिचको सम्पर्क सुदृढ गर्न’ र ‘द्विपक्षीय आदान प्रदानलाई सामान्यीकरणतर्फ लैजान’ सहयोगी हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ५० प्रतिशत करको सजाय लगाइएपछि वासिङ्टनसँगको व्यापारिक सम्बन्धमा तनाव झेलिरहेको भारतको बेइजिङसँगको सम्बन्ध पछिल्ला महिनाहरूमा न्यानो भएको देखिएको छ ।
ट्रम्पका सहयोगीहरूले भारतले मस्कोबाट तेल खरिद गरेर रुसको युक्रेन युद्धलाई परोक्ष रूपमा समर्थन गरेको आरोप लगाएका थिए । भारतको सबैभन्दा ठूलो विमान सेवा प्रदायक इन्डिगो एयरलाइन्सले चीनका लागि पहिलो दैनिक प्रत्यक्ष उडान सञ्चालन गरेको छ ।
कोलकाताबाट आइतबार बिहान १० बजे (१६ः ३० जिएमटी) ग्वाङ्झाउका लागि पहिलो उडान प्रस्थान गरेको थियो । राजधानी नयाँ दिल्लीबाट साङ्घाई र ग्वाङ्झाउतर्फका थप सेवाहरू नोभेम्बरदेखि सुरु हुने तयारीमा छन् ।
‘प्रत्यक्ष हवाई सम्पर्कले लजिस्टिक लागत र ट्रान्जिट समय घटाउनेछ’, कोलकातास्थित इन्डियन चेम्बर अफ कमर्सका प्रमुख राजीव सिंहले भने- ‘यसले व्यापारिक समुदायलाई ठूलो फाइदा पुर्याउनेछ ।’
कोलकाता सहरको चीनसँग ऐतिहासिक सम्बन्ध छ, जुन ब्रिटिश शासनकालदेखि नै सुरु भएको हो, जतिबेला चिनियाँ आप्रवासीहरू व्यापारीका रूपमा यहाँ आएका थिए । सहरको प्रसिद्ध ‘इन्डो–चिनियाँ फ्युजन’ परिकार त्यही सम्पर्कको स्वादिलो प्रतिक बनेको छ ।
‘हामीजस्ता चीनमा आफन्त भएका मानिसहरूका लागि यो हर्षको समाचार हो’, कोलकाताको चिनटाउन क्षेत्रमा रहेको नागरिक समाजका नेता चेन खोइ कुईले भने, ‘हवाई सम्पर्कले व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदान दुवैलाई सुदृढ पार्नेछ ।’
भारत र चीनबिच व्यापारिक असन्तुलन अझै ठूलो छ । भारतले चिनियाँ कच्चा मालमा ठूलो निर्भरता राखेको छ, जसले औद्योगिक उत्पादन र निर्यात वृद्धिलाई असर गरेको छ । गत वर्ष रुस तथा यस वर्ष अगस्टमा चीनमा भएका उच्चस्तरीय बैठकहरूले दुई देशबिच मेलमिलापको वातावरण सिर्जना गरेको बताइन्छ ।
भारतको वाणिज्य मन्त्रालयका अनुसार गत महिना चीनबाट आयात ११ अर्ब डलरभन्दा बढी पुगेको छ । यो गत वर्षको तुलनामा १६ प्रतिशत वृद्धि हो । त्यही अवधिमा भारतबाट चीनमा निर्यात एक अर्ब ४७ करोड डलर पुगेको छ । यसमा वार्षिक रूपमा करिब ३४ प्रतिशत वृद्धिदर देखिएको छ ।
कोभिड–१९ महामारीका समयमा दुई देशबिचका करिब ५०० मासिक प्रत्यक्ष उडानहरू स्थगित भएका थिए । सन् २०२० मा भएको सीमा झडपमा २० जना भारतीय र चार जना चिनियाँ सैनिकको मृत्यु भएपछि सम्बन्ध अझै बिग्रिएको थियो ।
त्यसपश्चात् भारतले चिनियाँ लगानी र प्राविधिक पहुँचमा प्रतिबन्ध लगाउँदै टिकटकसहित सयौँ एप प्रतिबन्धित गरेको थियो । यद्यपि पछिल्ला महिनामा सम्बन्धमा सुधारका सङ्केत देखिएका छन् ।
यस महिना दुवै देशका सैनिकहरूले हिन्दू पर्व दशैँ–तिहार (दीपावली) को अवसरमा मिठाइ आदानप्रदान गर्दै ‘सद्भावको प्रतीक’ प्रदर्शन गरेको भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता यु जिङले बताए ।
‘बेइजिङसँग सम्बन्ध सुधार गर्नु वासिङ्टनलाई उपयुक्त सन्देश पठाउने कूटनीतिक सङ्केत हो’, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच अगस्टमा भएको भेटपछिको सम्पादकीयमा द इन्डियन एक्सप्रेसले लेखेको थियो, ‘तर, सामान्यीकरणको बाटो अझै लामो छ । बढ्दो दृढ चीनलाई व्यवस्थापन गर्नु भारतको दीर्घकालीन चुनौती बनेको छ ।’
‘ट्रम्पका अनिश्चित कूटनीतिक नीतिहरूका बाबजुद पनि यी आधारभूत वास्तविकताहरू अपरिवर्तित रहन्छन्’, सम्पादकीयमा भनिएको थियो ।


प्रतिक्रिया