रुसले आणविक शक्तिबाट चल्ने क्रुज मिसाइल परीक्षण गर्‍याे

रुसले आणविक शक्तिबाट चल्ने क्रुज मिसाइल परीक्षण गर्‍याे



काठमाडौं । रुसले आणविक शक्तिबाट चल्ने ‘बुरेभेस्टनिक’ नामक क्रुज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ । रुसी राष्ट्रपति पुटिनले यसले कुनै पनि मिसाइल प्रतिरक्षा प्रणालीलाई छेड्न सक्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

गएको हप्ताको आणविक अभ्याससँगै गरिएको यो परीक्षणले पुटिनको शब्दमा रुसले युक्रेनको युद्धलाई लिएर पश्चिमा देशहरूको दबावमा कहिल्यै झुक्ने छैन भन्ने सन्देश दिएको खबरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि रुसविरुद्ध कडा अडान लिएका छन् । पुटिनले यस मिसाइललाई ‘संसारमा अद्वितीय र अतुलनीय सिर्जना’ भन्दै यसको रणनीतिक क्षमताको प्रशंसा गरेका छन् ।

रुसी सशस्त्र बलका जनरल स्टाफ प्रमुख भ्यालेरी गेरासिमोभले अक्टोबर २१ मा परीक्षण गर्दा यो मिसाइलले १४ हजार किलोमिटर यात्रा गरेको र झन्डै १५ घण्टा हावामा रहेको बताएका छन् ।

राष्ट्रपति पुटिनले सन् २०१८ मै पहिलो पटक यो मिसाइल विकास योजनाको घोषणा गरेका थिए । त्यस बेलादेखि नै यो परियोजना रुसको लामो दूरी र रणनीतिक प्रतिरोध क्षमताको प्रतीकका रूपमा हेरिँदै आएको छ ।