जापानमा भालुको आक्रमण तीव्र, गभर्नरले मागे सैन्य सहयोग

जापानमा भालुको आक्रमण तीव्र, गभर्नरले मागे सैन्य सहयोग



काठमाडौं । जापानमा यस वर्ष रेकर्डस्तरमा पुगेका भालु आक्रमणहरूका कारण उत्तर जापानका एक गभर्नरले सेनाबाट सहयोग मागेका छन् ।

अकिता प्रान्तका गभर्नर केन्टा सुजुकीले मंगलबार रक्षामन्त्रीलाई सम्बोधन गर्दै ‘आत्मरक्षा बलको सहयोगबिना नागरिकहरूको जीवन रक्षा असम्भव भएको’ बताए ।

सरकारी तथ्याङ्कअनुसार यस वर्ष हालसम्म भालु आक्रमणमा १० जनाको ज्यान गइसकेको छ । यो सन् २०२४ मार्चमा समाप्त अघिल्लो आर्थिक वर्षको ६ जनाको रेकर्डभन्दा बढी हो । सुजुकीले भने, ‘घाँटी र अनुहार लक्षित आक्रमण अत्यन्त सामान्य भइसकेका छन्, जसले भयावह स्थिति सिर्जना गरेको छ ।’

भालुहरू अब केवल पहाडी क्षेत्रमा सीमित नरही शहर र बस्तीमा समेत देखिन थालेका छन् । ‘स्थानीय बासिन्दाको दैनिकी नै अवरुद्ध भएको अवस्था असामान्य छ’, गभर्नरले चेतावनी दिए ।

रक्षामन्त्री सिन्जिरो कोइजुमीले जवाफमा सरकारले ‘सुरक्षा पुनःस्थापना गर्न उपलब्ध सबै अधिकार र साधन प्रयोग गर्ने’ प्रतिबद्धता जनाए । वातावरण मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो पीडित अकिताको पहाडी गाउँमा तीन अन्य व्यक्तिसँगै आक्रमणमा परेका थिए । यद्यपि, पछिल्ला केही घटनाहरू अझै आधिकारिक तथ्याङ्कमा समावेश भएका छैनन् ।

स्थानीय मिडियाका अनुसार सोमबार अकिताको धानखेतमा एक महिला मृत फेला परेकी थिइन् र इवाटे क्षेत्रमा एक पुरुष र उनको कुकुर पनि आक्रमणको शिकार बनेका थिए ।

विशेषतः उत्तरी क्षेत्रमा भालुहरूले हालै पर्यटकमाथि आक्रमण गर्ने, पसल र विद्यालयनजिक प्रवेश गर्ने घटनाहरू बढेका छन् ।