राजस्थानमा भयानक सडक दुर्घटना : १५ जनाको मृत्यु

राजस्थानमा भयानक सडक दुर्घटना : १५ जनाको मृत्यु



राजस्थान । भारतको राजस्थानस्थित जोधपुर जिल्लाको फलोदीमा आइतबार साँझ भएको एक भयानक सडक दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका केही व्यक्तिहरूलाई थप उपचारका लागि जोधपुर पठाइएको छ ।

मातोडा पुलिस थाना क्षेत्र अन्तर्गत भारत माला हाइवेमा सडक किनारमा रोकिएको एउटा ट्रेलरमा टेम्पो ट्राभलर गाडी ठोक्किएपछि यो ठूलो दुर्घटना भएको हो । टेम्पो ट्राभलरमा सवार सबै यात्रुहरू जोधपुरको सूरसागरका बासिन्दा थिए र उनीहरू कोलायतमा रहेको एक आश्रमबाट दर्शन गरी फर्कंदै थिए ।

राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा ले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘फलोदीको मातोडा क्षेत्रमा भएको सडक दुर्घटनामा भएको जनधनको क्षति अत्यन्तै दुःखद र हृदयविदारक छ । मेरो समवेदना शोकाकुल परिवारजनसँग छ ।’

यसैगरी, राजस्थानका पूर्वमुख्यमन्त्री अशोक गहलोतले पनि घटनाप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको शान्तिको कामना गरेका छन् र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको प्रार्थना गरेका छन् ।