१० बुँदे मापदण्ड स्वीकार गर्न नसकिने भन्दै नेपालद्वारा मलेशियालाई कूटनीतिक नाेट

१० बुँदे मापदण्ड स्वीकार गर्न नसकिने भन्दै नेपालद्वारा मलेशियालाई कूटनीतिक नाेट



काठमाडौं । मलेशियाले म्यानपावर कम्पनीका लागि निर्धारण गरेको नयाँ मापदण्ड स्वीकार गरी कार्यान्वयन गर्न नसकिने भन्दै नेपालले कूटनीतिक नाेट पठाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावरसम्बन्धी १० बुँदे मापदण्ड तत्काल कार्यान्वयन गर्न नसकिने भन्दै परराष्ट्र मन्त्रालयमार्फत मलेशियालाई कूटनीतिक नोट पठाएको हो ।

मलेशियाले ‘दुई देशबीच मर्यादित श्रम आप्रवासनलाई अभ्यास गर्नका लागि उचित सङ्ख्यामा म्यानपावर कम्पनी छनोट गर्न’ नेपालसहित पाँच देशका म्यानपावरका लागि १० वटा मापदण्ड निर्धारण गरेर पत्राचार गरेको थियो । त्यस मापदण्ड अनुसार म्यानपावर कम्पनीको सिफारिश गर्न स्रोत देशलाई कात्तिक २७ गतेको समयसीमा दिएको छ ।

नेपालका म्यानपावर व्यवसायीले मलेशियाले सिन्डिकेट लगाउन १० बुँदे मापदण्ड ल्याएको आरोप लगाउँदै यसको विरोध गरिरहेका छन् । १० वटा मापदण्ड पूरा गरेका म्यानपावरको सङ्ख्या निकै कम रहेको, मलेशियाले सीमित म्यानपावरलाई मात्रै लाभ दिने र श्रमिकमाथि आर्थिक भार थप्ने उद्देश्यले नयाँ मापदण्ड ल्याएको आरोप व्यवसायीहरूको छ ।

शर्त पालना गर्न नसक्ने भएपछि पत्र पठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।