काठमाडौं । वैज्ञानिकहरूले ब्रम्हाण्डमा एक ब्ल्याक होलबाट निस्किएको अहिलेसम्मकै चम्किलो प्रकाशयुक्त ज्वाला देखेको बताएका छन् । त्यो ज्वालाको प्रकाश १० ट्रिलियन सूर्य बराबर रहेको वैज्ञानिक निष्कर्षलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।
क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी (क्यालटेक) का खगोलविद् म्याथ्यू ग्राहमले नेतृत्व गर्नुभएको अध्ययनको निष्कर्ष मङ्गलवार ‘नेचर एस्ट्रोनोमी’ जर्नलमा प्रकाशित भएको छ ।
त्यो चम्किलो ज्वालाको दृश्य पछिल्लो पटकको सन् २०१८ मा क्यालिफोर्नियामा रहेको पालोमार वेधशालाको क्यामेरामा कैद भएको थियो । तीन महिनासम्म भयानक ढङ्गले चम्किएपछि ज्वाला बिस्तारै कम हुँदै गएको ‘नेचर एस्ट्रोनोमी’ जर्नलमा प्रकाशित शोधमा भनिएको छ । असामान्य रूपमा ठूलो तारा ब्ल्याक होलको धेरै नजिक पुगेपछि विस्फोट भएर ऊर्जा निस्किएको हुन सक्ने शोधमा उल्लेख छ ।
वैज्ञानिकहरूका अनुसार त्यो ज्वाला पृथ्वीभन्दा १० अर्ब प्रकाश वर्ष टाढा रहेको एक सुपरम्यासिभ ब्ल्याक होलबाट आएको हो । एक प्रकाश वर्ष भनेको प्रकाशले एक वर्षमा पार गर्ने दूरी हो ।
त्यसैले ब्ल्याक होलमा १० अर्ब वर्षअघि उत्पन्न प्रकाश बल्ल पृथ्वीमा आइपुगेको हो । यो खोजले ब्ल्याक होलका रहस्य बुझ्नमा ठूलो सहयोग गर्ने वैज्ञानिकहरूको भनाइ छ ।
ब्ल्याक होल ब्रम्हाण्डको सबैभन्दा रहस्यमय तथा शक्तिशाली हिस्सा हो । यसको घनत्व यति धेरै हुन्छ कि त्यसमा प्रकाश छिर्याे भने पनि बाहिर निस्कन सक्दैन । सुपरमासिभ ब्ल्याक होल लाखौं–करोडौं सूर्य जत्रै विशाल हुन्छन् ।
‘मिल्की वे’ सहित झन्डै हरेक ठूला आकाशगङ्गाको केन्द्रमा एउटा सुपरमासिभ ब्ल्याक होल रहेको वैज्ञानिक विश्वास छ । तर वैज्ञानिकहरू अझै पनि यो कसरी बन्छ भन्ने कुरामा निश्चित छैनन् ।


प्रतिक्रिया