इरानमा ५० वर्षयताकै ठूलाे खडेरी, वर्षा गराउन ‘क्लाउड सिडिङ’ शुरू

इरानमा ५० वर्षयताकै ठूलाे खडेरी, वर्षा गराउन ‘क्लाउड सिडिङ’ शुरू



काठमाडौं । इरानमा ५० वर्षयताकै ठूलाे खडेरी परेपछि कृत्रिम वर्षा गराउन सरकारले ‘क्लाउड सिडिङ’ प्रक्रिया औपचारिक रूपमा शुरू गरेको छ ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार कडा खडेरीसँग जुध्न वर्षा गराउने क्लाउड सिडिङ प्रक्रिया शुरू भएको हो । उर्मिया ताल बेसिनमा पहिलो क्लाउड सिडिङ उडान सम्पन्न गरेको खबरमा उल्लेख छ ।

इरानको उत्तर–पश्चिममा रहेको उर्मिया देशको सबैभन्दा ठूलो ताल हो । तर लामो खडेरीका कारण ठूलो भाग सुकेर विशाल नुनथलोमा परिणत भएको छ ।

क्लाउड सिडिङमा विमानमार्फत बादलहरूमा सिल्भर आयोडाइड, नुन लगायतका सूक्ष्म कणहरू छर्केर वर्षा गराउने प्रयास गरिन्छ । गएको वर्ष इरानले यस प्राविधिक प्रक्रियामा स्वदेशी प्रविधि विकास भएको घोषणा गरेको थियो ।

विश्व मौसम विज्ञान सङ्गठनका विवरण अनुसार इरानमा यस वर्ष दीर्घकालीन औसतको तुलनामा ८९ प्रतिशत कम वर्षा भएको छ । इरानले वर्षौंदेखि लगातार दीर्घ खडेरी, चर्को तापक्रम र गर्मीको लहरको सामना गर्दै आएको छ जसलाई जलवायु परिवर्तनले झनै जटिल बनाइरहेको बताइन्छ ।

राजधानी तेहरानमा वर्षा एक शताब्दीमा सबैभन्दा न्यून स्तरमा झरेको र देशको आधा प्रान्तमा महिनौंदेखि वर्षाको एक थोपा पनि नपरेको इरान सरकारले जनाएको छ । धेरै प्रान्तलाई पानी आपूर्ति गर्ने प्रमुख जलाशयहरूको सतह पनि रेकर्ड न्यूनमा पुगेको छ ।

यो महिनाको शुरूमा राष्ट्रपति मसुद पेजेस्कियानले पानी नपरेमा तेहरानले जाडोअघि नै पानीको चरम अभाव झेल्ने चेतावनी दिएका थिए ।