काठमाडौं । विश्वका धनी देशहरु विश्वव्यापी विकास प्रयासहरूबाट पछि हट्दै गएको एक अध्ययनले देखाएको छ ।
अमेरिका, जापानसहित विश्वका १० वटाभन्दा धेरै धनी देशहरू आफ्नो विश्वव्यापी विकास अभियानबाट पछि हटिरहेका आज प्रकाशित अध्ययनलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । धेरै देशले बहुपक्षीय ऋणदाताहरूमार्फत सहायता बजेट र नगद कटौती गरिरहेका खबरमा उल्लेख छ ।
अमेरिकाको वाशिङ्गटनमा रहेको ‘थिङ्क ट्याङ्क सेन्टर फर ग्लोबल डेभलपमेन्ट’ (सीजीडी) ले हरेक दुई वर्षमा प्रकाशन गर्ने सूचीमा स्वीडेन, जर्मनी, नर्वे र फिनल्यान्डले भने आफ्नो स्थान कायम राखेका छन् ।
पछिल्लो वरीयतामा बेलायत दुई स्थान माथि उक्लिएर पाँचौं स्थानमा पुगेको छ । यो बेलायत सरकारले ४० प्रतिशत सहायता कटौती घोषणा गर्नुअघिको तथ्याङ्कमा आधारित रहेको अध्ययनले जनाएको छ ।
पछिल्लो प्रतिवेदनमा अमेरिका दुई स्थान तल झरेर २८औं स्थानमा पुगेको छ । यद्यपि यसले डोनाल्ड ट्रम्प राष्ट्रपति बनेदेखि घोषणा गरेको अर्बौं डलरको सहायतामा कटौतीलाई प्रतिबिम्बित गर्दैन ।
ट्रम्प प्रशासनले गरिरहेका परिवर्तनहरू धेरै महत्त्वपूर्ण रहेका सीजीडीका वरिष्ठ नीति फेलो इयान मिचेलले बताउनुभयो । धेरै विकसित अर्थतन्त्रहरूले रक्षा खर्चको पक्षमा सहायता र विकास वित्तपोषणमा कटौती गरेका छन् ।


प्रतिक्रिया