जलवायु सम्मेलन : जीवाश्म इन्धन कटौतीबारे नयाँ सङ्कल्प भएन

जलवायु सम्मेलन : जीवाश्म इन्धन कटौतीबारे नयाँ सङ्कल्प भएन



काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घको सबैभन्दा ठूलो सम्मेलन ‘कोप–३०’ अमेजन जलवायु सम्झौता गर्दै सम्पन्न भएको छ ।

ब्राजिलको अमेजन नदी किनारको बेलम शहरमा भएको सम्मेलनको सम्झौतामा झन्डै २०० देश सहमत भए पनि जीवाश्म इन्धनको कटौतीबारे नयाँ सङ्कल्प भने भएन ।

यस पटकको कोपमा जीवाश्म इन्धनको कटौतीबारे नयाँ सङ्कल्प हुने अपेक्षा थियो । यो सम्मेलनमा विश्व तापक्रम वृद्धिबाट प्रभावित गरिब देशहरूलाई दिइने आर्थिक सहयोग वृद्धि गनुपर्ने विषय जोडदार रूपमा उठेको छ । दुई हप्तासम्म चलेको छलफल निकै पेचिलो बनेको बीबीसीले जनाएको छ ।

केही देशहरूले ‘ग्रीन हाउस’ ग्याँसहरूको नियन्त्रण वा जीवाश्म इन्धनको विषयमा बलियो समाधानविना नै सम्मेलन सकिएको भन्दै आपत्ति जनाएका छन् ।

दुबईमा आयोजित ‘कोप–२८’ ले सन् २०५० भित्र पेट्रोल, ग्याँस र कोइलाको प्रयोगमा कटौती गर्ने, नवीकरणीय ऊर्जाको व्यापक प्रयोग गर्ने र ‘जीवाश्म इन्धन उत्सर्जन नेट जिरोमा झार्ने’ महत्त्वाकाङ्क्षी योजना पारित गरेको थियो ।

याे याेजनामा १९८ ९८ देशले हस्ताक्षर गरेका थिए । तर हस्ताक्षरको केही समयपछि नै साउदी अरेबिया, रुस, चीन, भारतलगायत देशहरू आफ्नो प्रतिबद्धताबाट पछि हटेका थिए ।

तत्कालीन समय यस विषयमा हस्ताक्षर जुटाउन महत्त्वपूर्ण भूमिका निभाएको अमेरिकाले डोनाल्ड ट्रम्प राष्ट्रपतिका रूपमा फर्किएपछि चासो देखाएको छैन । जलवायु परिवर्तनको मुद्दालाई ‘विश्वकै सबैभन्दा ठूलो ठगी धन्दा’ भन्ने आरोप लगाउनुभएका ट्रम्पले यस पटकको कोप बैठकमा आधिकारिक प्रतिनिधि पठाएनन् ।

यो सम्मेलनले धनी देशहरूले जलवायु परिवर्तन अनुकूलनका लागि वित्त कोषमा गर्दै आएको योगदान सन् २०३५ भित्र तीन गुणाले बढाउनुपर्ने माग गरेको छ ।