काठमाडौं । अमेरिका समर्थित शान्ति योजनामा वार्तापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी भूभाग रुसलाई दिनु मुख्य समस्या भएको बताएका छन् ।
स्वीडेनी संसद्लाई सम्बोधन गर्ने क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले कब्जा गरेको आफ्नो क्षेत्र दिन नसकिने बताएका छन् । युक्रेनबाट कब्जा गरेको क्षेत्रलाई कानूनी मान्यता दिनुपर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको माग शान्ति वार्ताको मुख्य समस्या रहेको उनले उल्लेख गरे ।
जेलेन्स्कीले रुसको मागले क्षेत्रीय अखण्डता र सार्वभौमिकताको सिद्धान्तलाई तोड्ने भन्दै बल प्रयोग गरेर सीमा परिवर्तन गर्न नसकिने भन्ने कुरामा जोड दिएको खबरमा उल्लेख छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्यान्डको जेनेभामा युक्रेनसँग भइरहेको वार्तामा ठूलो प्रगति हुने सङ्केत गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले वार्तामा केही राम्रो भइरहेको हुन सक्ने बताएका हुन् ।
गएको हप्ता अमेरिकीद्वारा प्रस्तावित पछिल्लो शान्ति योजनाको मस्यौदा बाहिर आउँदा युरोपेली नेताहरूले यो रुसका लागि धेरै अनुकूल रहेको भन्दै आलोचना गरेका थिए ।
जेनेभा वार्ता अमेरिकाले पेस गरेको मस्यौदा योजनामा केन्द्रित छ । अमेरिकी मस्यौदामा युक्रेनी सेना उसले अहिले नियन्त्रण गरिरहेको पूर्वी दोनेत्स्क क्षेत्रका भूभागबाट पनि फिर्ता हुनुपर्ने, अनि दोनेत्स्क, लुहान्स्क तथा रुसले सन् २०१४ मा गाभेको क्राइमियामा रुसी नियन्त्रणको मान्यता जस्ता विषय रहेका खबरमा उल्लेख छ ।


प्रतिक्रिया