इथियोपियामा ज्वालामुखी विस्फोट भएपछि एअर इन्डिया र अकासाले उडान रद्द गरे

इथियोपियामा ज्वालामुखी विस्फोट भएपछि एअर इन्डिया र अकासाले उडान रद्द गरे



काठमाडौं । इथियोपियामा ज्वालामुखी विस्फोटबाट निस्केको खरानीले सञ्चालनमा अवरोध पुर्‍याएपछि भारतीय विमान कम्पनी एऋर इन्डिया र आकासा एअरले केही उडानहरू रद्द गरेको बताएका छन् ।

भारतको उड्डयन नियामकको निर्देशनपछि ज्वालामुखी विस्फोटका कारण केही ठाउँहरूमा उडेका विमानहरूको सावधानी जाँच गर्न एअर इन्डियाले हिजो र आज ११ वटा उडान रद्द गरेको बताएको छ । यस्तै अकासाले दुई दिनको अवधिमा जेद्दा, कुवेत र अबुधाबी जस्ता मध्यपूर्व गन्तव्यहरूमा निर्धारित उडानहरू रद्द गरेको बताएको छ ।

नागरिक उड्डयन मन्त्रालयले सावधानीका रूपमा केही उडानहरूको मार्ग परिवर्तन गरिएको र विमानस्थल प्राधिकरणले सबै प्रभावित विमानहरूलाई सूचना जारी गरेको बताएको छ ।

यसैबीच भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले एक विज्ञप्तिमा भनेको छ, ज्वालामुखी विस्फोटबाट निस्केको खरानीको बादल चीनतर्फ सरिरहेको र भोलिसम्ममा भारतीय आकाश सफा हुने अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

मिडिया रिपोर्टहरूका अनुसार इथियोपियाको हेली गुब्बी ज्वालामुखी हिजो विस्फोट भएपछि १४ किलोमिटर उचाइसम्म खरानी फैलिएको छ । ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार आज ज्वालामुखी विस्फोटको खरानीले यमन र ओमान पार गरेपछि पाकिस्तान र उत्तरी भारतका केही भागहरू ढाकेको थियो ।