गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु



मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा लागेको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले आइतबार पुष्टि गरेका छन् ।

तटीय राज्यको उत्तरी क्षेत्र अर्पोरामा मध्यराततिर सुरु भएको आगलागीमा ज्यान गुमाउनेहरूमा केही पर्यटक पनि परेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञप्ति जारी गर्दै यस दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

अरब सागरको किनारमा रहेको पूर्व पोर्चुगाली उपनिवेश गोवा आफ्नो जीवन्त रात्रि जीवन, सुनौला बालुवामय समुद्र किनार तथा शान्त तटीय वातावरणका कारण वार्षिक रूपमा लाखौँ पर्यटकको आकर्षण केन्द्र बनेको छ ।

“आज हामी सबैका लागि अत्यन्त पीडादायी दिन हो”, मुख्यमन्त्री सावन्तले विज्ञप्तिमा उल्लेख गरेका छन्, “२५ जनाले ज्यान गुमाउनुभएको छ र छ जना घाइते हुनुभएको छ ।” उनले पत्रकारहरूसँग कुरा गर्दै मृतकमध्ये ‘तीनदेखि चार’ जना पर्यटक रहेको बताउनुभयो, यद्यपि राष्ट्रियता खुलाइएको छैन ।

सावन्तले यस दुःखद घटनाका कारण पहिचान गर्न तथा जिम्मेवारी निर्धारण गर्न मजिस्ट्रेट स्तरीय छानबिनको आदेश दिइसकिएको जानकारी पनि दिए ।

प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) का दृश्यहरूमा उद्धारकर्मीहरूले घाइते तथा मृतकहरूलाई बिर्च नाइटक्लबको साँघुरो ढुङ्गे सिँढीमार्फत स्ट्रेचरमा बोक्दै गरेको देखिन्छ ।

गोवाका फायर चिफ नितिन वी राइकरले भारतीय प्रसारणकर्ता सिएनएन न्युज १८ सँग कुरा गर्दै अधिकांश व्यक्तिको मृत्यु बेसमेन्ट र भान्सा क्षेत्रतिर फैलिएको धुवाँका कारण श्वासप्रश्वास अवरुद्ध भएर भएको बताए । उनका अनुसार क्लबमा पार्टी चलिरहेको र ‘फायर शो’ आयोजना गरिएको समयमा काठका संरचनामा आगो लागेर धुवाँले सम्पूर्ण भवन ढाकिएको थियो ।

भारतमा कमजोर निर्माण अभ्यास, भीडभाड र सुरक्षा मापदण्ड पालना नहुनुका कारण यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेको ज्ञात विषय हो । यसअघि मे महिनामा हैदराबादस्थित तीनतले भवनमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको थियो ।

त्यसको एक महिनाअघि कोलकाताको होटलमा लागेको भीषण आगलागीमा कम्तीमा १५ जनाले ज्यान गुमाएका थिए, जसमा केही मानिस भाग्न झ्याल हुँदै बाहिर निस्कन वा छतमा चढ्न बाध्य भएका थिए ।

गत वर्ष पश्चिमी राज्य गुजरातको अत्यधिक भीड भएको एक मनोरञ्जन पार्क–आर्केडमा आगलागी हुँदा पनि कम्तीमा २४ जनाले ज्यान गुमाएका थिए ।