काठमाडौं । पश्चिम अफ्रिकी देश बेनिनमा सेनाको एक समूहले राष्ट्रपति प्याट्रिस ट्यालोनलाई अपदस्थ गरी सत्ता कब्जा गरेको घोषणा गरेका छन् । सैनिकहरूले राष्ट्रिय टेलिभिजनमा आएर सत्ता कब्जा गरेको घोषणा गरेका बीबीसीले जनाएको छ ।
बेनिनमा रहेको फ्रान्सेली दूतावासबाट प्राप्त सन्देशमा मुख्य शहर कोटोनोउमा रहेको राष्ट्रपतिको निवास नजिकै गोली चलेको रिपोर्ट आएको उल्लेख छ ।
सैनिकहरूले संविधान निलम्बन गर्ने, सबै सिमानाहरूका साथै देशको हवाई क्षेत्र बन्द गर्ने घोषणा पनि गरेका खबरमा उल्लेख छ । तर राष्ट्रपतिका नजिकका अधिकारीहरूले प्याट्रिस ठीक रहेको र टीभी स्टेशनमा रहेका सैनिकहरूको सानो समूहलाई नियमित सेनाको समर्थन नभएको बताएका छन् ।
अहिले स्थिति नियन्त्रणमा रहेको र सेनाको ठूलो हिस्सा अझै पनि सरकारको पक्षमा रहेका विदेशमन्त्री शेगुन अदजादी बकारीले समाचार संस्था रोयटर्ससँग भनेका छन् ।
सैनिकहरूले पढेर सुनाएको विज्ञप्ति अनुसार लेफ्टिनेन्ट–कर्नेल टिग्री पास्कलले सैन्य सङ्क्रमण परिषद्को नेतृत्व गर्नेछन् ।
बेनिनमा आउँदो अप्रिलमा राष्ट्रपति चुनाव घोषणा भइसकेको अवस्थामा ‘सैन्य कू’ घोषणा भएको हो । सन् २०१६ देखि सत्तामा रहेका टालोन पद छोड्ने तयारीमा थिए । उनले दुई कार्यकालपछि स्वेच्छाले पद छोड्ने निर्णय गरेका थिए ।


प्रतिक्रिया