गाजा सङ्कट समाधानका लागि द्विपक्षीय संवाद सुरु हुने

गाजा सङ्कट समाधानका लागि द्विपक्षीय संवाद सुरु हुने



जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेटान्याहुले यस महिनाको अन्त्यतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरी गाजाका लागि अमेरिकी मध्यस्थतामा अगाडि बढिरहेको युद्धविरामको दोस्रो चरणबारे छलफल गर्ने घोषणा गरेका छन् ।

अक्टोबर १० मा लागू भएको अमेरिकी मध्यस्थतामा तय युद्धविरामको बावजुद गाजामा पूर्ण शान्ति अझै कायम भएको छैन । दुई वर्षअघि हमास विद्रोहीले इजरायलमाथि हमला गरेपछि यो सम्झौता भएको हो । तर, इजरायल र हमासले एक अर्कालाई उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।

नेटान्याहुले भने, “हामी चाँडै दोस्रो चरणमा प्रवेश गर्ने अपेक्षा राख्छौं, जुन पहिलो चरणभन्दा कठिन हुनेछ ।” उनले ट्रम्पसँग ‘क्षेत्रमा शान्तिका अवसर’ बारे छलफल गर्ने योजना रहेको बताए । जर्मनीका चान्सलर फ्रिडरिक मर्जले पनि दोस्रो चरण तुरुन्त सुरु हुनुपर्ने बताए र द्वि–राज्य समाधानतर्फ जर्मनीको समर्थन रहेको स्पष्ट पारे ।

पहिलो चरणमा, प्यालेस्टिनी विद्रोहीले बाँकी रहेका ४७ इजरायली बन्धकलाई रिहा गरेका छन् । दोस्रो चरणमा, अमेरिकी प्रस्तावअनुसार इजरायली सेनाको थप फिर्ती मुद्दा समाधान गरिने अपेक्षा छ । गाजामा हमासका प्रमुख खालिल अल-हैय्याले भने, “यदि इजरायली कब्जा अन्त्य हुन्छ भने हामी हतियार फिर्ता गर्नेछौँ । हाम्रो हतियार कब्जा र आक्रमणसँग जोडिएको छ, र कब्जा अन्त्य भए राज्यलाई हस्तान्तरण गरिनेछ ।”

दोस्रो चरणका लागि हमास र अन्य प्यालेस्टिनी समूहका हतियारको विषय अझै छलफलमा छन् । हमासले पहिले शस्त्र त्याग अस्वीकार गरेको थियो भने इजरायलले हमास र अन्य समूहका हतियार फिर्ता गर्नु दोस्रो चरणको मुख्य शर्त बनाएको छ । युद्धविरामको अवधि सुरु भए पनि गाजामा ३६० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जससँगै प्यालेस्टिनी मृतकको सङ्ख्या ७० हजार ३६० पुगेको छ । यसैबिच, तीन इजरायली सैनिकको पनि मृत्यु भएको छ ।